१ अर्ब २० करोड असुलउपरको माग गर्दै मुद्दा

नक्कली बिलबिजक प्रयोग गर्नेमाथि विभागको डण्डा


–पछिल्लो समयकै सबैभन्दा ठूलो मुद्दा
–राजस्व छली गर्ने ध्रुव देव पक्राउ

काठमाडौं ।
राजस्व अनुसन्धान विभागले राजस्व छली गरेको आरोपमा काठमाडौं महानगरपालिका–३१ नयाँ बानेश्वरस्थित ध्रुव कन्स्ट्रक्सन प्रालिका सञ्चालक ध्रुव देवविरुद्ध बिगो र बिगोबराबरको जरिवानासहित १ अर्ब २० करोड ९२ लाख ३० हजार ५ सय १६ रुपियाँ असुलउपर गर्न माग गर्दै सोमबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । त्यति धेरै राजस्व छली गरी सरकारलाई ठगी गर्ने ध्रुव देवलाई विभागले नियन्त्रणमा लिएर छानबिन गर्दै आइरहेको थियो ।

विभागमा महानिर्देशकको रूपमा चण्डीप्रसाद घिमिरे आएपछि उहाँले राजस्व छली गर्नेविरुद्ध आक्रामक कारबाही थाल्दै आउनुभएको छ । सम्भवतः यो मुद्दा पछिल्ला केही वर्षयताकै सबैभन्दा ठूलो मुद्दा हो । महानिर्देशक घिमिरेले राजस्व छली गर्नेहरूविरुद्ध कठोर कारबाही थालिएको र छली गर्नेहरूलाई धमाधम कानुनी दायरामा ल्याउने क्रमलाई व्यापक बनाइएको बताउनुभयो । यसैक्रममा राजस्व छलीविरुद्ध पछिल्लो समयकै सबैभन्दा ठूलो मुद्दा दायर भएको महानिर्देशक घिमिरेले जानकारी दिनुभयो ।

विभागले काठमाडौं महानगरपालिका–३१ नयाँ बानेश्वरस्थित ठेक्कापट्टा, कन्सल्टेन्सी सेवा तथा कन्सट्रक्सन सामान खरिदबिक्री कारोबार गर्ने धु्रव देवले वस्तु तथा सेवाको हस्तान्तरण नगरी बिलबिजकमात्र जारी गरेको, खरिद कारोबारको भुक्तानी बैंकमार्फत नगरेको, बिजकहरू सिलसिलेवार जारी नगरेको, मूल्य अभिवृद्धिकर विवरण र आय विवरण दाखिला नगरेको, मूअ कर तथा आयकरतर्फ झुटा विवरण पेस गरेको, मालसामान खरिदको स्रोत पुष्टि नभएको तथा सरकारलाई नियमअनुसार तिर्नु बुझाउनुपर्ने मूअ कर तथा आयकरलगायतका राजस्व नतिरी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ विपरीत कार्य गरी सो ऐनको दफा ४ बमोजिमको कसुर गरेको पुष्टि भएकाले निज प्रतिवादी ध्रुव देवलाई मूल्य अभिवृद्धि करतर्फ ४५ करोड ८० लाख ८३ हजार ४ सय ३४ र आयकरतर्फ १४ करोड, ६५ लाख ३१ हजार ८ सय २४ गरी जम्मा ६० करोड ४६ लाख १५ हजार २ सय ५८ विगो कायम गरी बिगो असुल तथा विगोको शतप्रतिशत जरिवाना रकम ६० करोढ ४६ लाख १५ हजार २ सय ५८ गरी जम्मा १ अर्ब २० करोड ९२ लाख ३० हजार ५ सय १६ रुपियाँ असुलउपर गर्न माग गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिनुभयो ।

विभागले नक्कली बिलबिजकको प्रयोग गरी राजस्व छली गर्ने क्रम अत्यधिक पाइएपछि त्यस्तो विकृतिविरुद्धको अनुसन्धानलाई तीव्रता दिँदै आएको छ । अझै पनि बजारमा नक्कली बिलबिजकको प्रयोग गरी राजस्व छली गर्नेहरू अत्यधिक रहेकाले त्यस्ता व्यक्ति तथा समूहविरुद्धको खोजतलासलाई विभागले तीव्रता दिँदै आएको जनाएको छ । यसैक्रममा विभागले ध्रुव कन्स्ट्रक्सनको राजस्व छलीविरुद्ध गहन छानबिन गरेको थियो । विभागका अनुसन्धान अधिकृतसमेत रहेका सूचना अधिकारी नवराज अधिकारी समेतको अनुसन्धान टोलीले यस सम्बन्धमा विस्तृत र गहन अनुसन्धान गरी यति ठूलो मुद्दा दायर गर्न सफल भएको हो ।

यसरी गरिएको थियो करोडौंको छली
–वस्तु तथा सेवाको हस्तान्तरण नगरी बिल बिजकमात्र जारी गरिएको
–खरिद कारोबारको भुक्तानी बैंकमार्फत नगरिएको
–बिजकहरू सिलसिलेवार जारी नगरिएको
–मूल्य अभिवृद्धि कर विवरण र आय विवरण दाखिला नगरिएको
–मालसामान खरिदको स्रोत पुष्टि नभएको
–मूअ कर तथा आयकरतर्फ झुटा विवरण पेस गरिएको