बिनाधितो ३ प्रतिशत ब्याजदरमा ६६१ उद्यमीलाई ७७ करोड स्टार्टअप कर्जा


काठमाडौं।
सरकारले चालू आर्थिक वर्षमा ६६१ जना उद्यमीलाई कर्जा सिफारिस गरेको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले ३ प्रतिशत ब्याजदरमा कर्जा सिफारिस भएका उद्यमीहरुको सूची सार्वजनिक गरेको हो ।

प्रतिष्ठानले गत भदौ ११ गते देशभरका नवप्रवर्तनशील तथा लघु उद्यमी लक्षित गर्दै स्टार्टअप कर्जाका लागि परियोजना प्रस्ताव आह्वान गरेको थियो । त्यस क्रममा अनलाइन तथा भौतिक माध्यमबाट ५ हजार १५८ जनाले आवेदन दिएका थिए । तीमध्ये प्रारम्भिक मूल्यांकन पश्चात् १ हजार ३१४ जना उद्यमीले पुस १९ गतेभित्र परियोजना प्रस्तुतीकरणका लागि छनोट भए पनि १ हजार ७३ जनाले आफ्नो परियोजनाबारे प्रस्तुतीकरण दिएका थिए ।

प्रतिष्ठानले प्रस्तुतीकरण, परियोजनाको व्यावसायिक सम्भाव्यता, वित्तीय विवरण, व्यवसायको तस्बिर तथा भिडियो र बैंकद्वारा गरिएको क्रेडिट प्रपोजलका आधारमा मूल्यांकन समिति गठन गरी विस्तृत अध्ययन गरेको थियो । मूल्यांकनको आधारमा कम्तीमा ५० प्रतिशत अंक ल्याउने उद्यमीलाई प्राथमिकताका साथ कर्जाका लागि सिफारिस गरिएको हो।

सरकारले स्टार्टअप कर्जाका लागि चालु आर्थिक वर्षमा १ अर्ब रुपियाँ बजेट विनियोजन गरेको छ । सो रकममध्ये ३ करोड प्रतिष्ठानको प्रशासनिक खर्च, १९ करोड ४० लाख कर्जा सुरक्षा कोष (इन्स्योरेन्स र डिफल्ट कभर) मा छुट्याइएको छ भने बाँकी ७७ करोड ६० लाख उद्यमीलाई बिनाधितो कर्जा प्रवाह गरिनेछ । सिफारिस भएका उद्यमीलाई ५ लाखदेखि २५ लाख रुपियाँसम्म कर्जा उपलब्ध गराइनेछ । उद्यमीहरुले ३ प्रतिशत वार्षिक ब्याजदरमा यस्तो कर्जा पाउने छन् । यो नेपालमा हालसम्मकै न्यून ब्याजदरमा दिइने संस्थागत स्टार्टअप कर्जा हो, जसले नवप्रवर्तनशील सोचर स्वरोजगारमा केन्द्रित उद्यमशीलतालाई सहयोग पुर्याउने अपेक्षा गरिएको छ।

सिफारिस सूचीमा परेका उद्यमीले सूचना जारी भएको मितिबाट ४५ दिनभित्र सम्बन्धित बैंकको शाखामा सम्पर्क गर्नुपर्नेछ । समयमा सम्पर्क नगरेमा परियोजना प्रस्ताव र सिफारिस रकम स्वतः रद्द हुने प्रतिष्ठानले जनाएको छ । कुन उद्यमी कुन बैंक र शाखामा जाने भन्ने विवरण बिहीबारसम्म सार्वजनिक गरिने प्रतिष्ठानको भनाइ छ । अन्य सम्बन्धित निकायबाट लिइने अनुमति पत्रहरु अघिल्लो आर्थिक वर्षमा प्रतिष्ठानले १६५ उद्यमीलाई २१ करोड रुपियाँ स्टार्टअप कर्जा प्रवाह गरेको थियो । सोमध्ये १ करोड ८० लाख रुपियाँ हालसम्म फिर्ता भइसकेको छ ।

उद्यमीले अनिवार्यरुपमा पेश गर्नुपर्ने कागजातहरु

– व्यवसाय दर्ता प्रमाणपत्र तथा नवीकरणको सक्कल प्रतिलिपि

-प्यान वा भ्याट दर्ता प्रमाणपत्र

-चालु आर्थिक वर्षको कर चुक्ता प्रमाण

-उद्यमीको नागरिकता प्रमाणपत्र

-पासपोर्ट साइजको फोटो

-व्यवसायको छाप

-परियोजना सञ्चालन लिज वा भाडामा भए सम्झौतापत्रको प्रतिलिपिलगायत