उत्कृष्ट सूचनाको हक अभियन्ता पुरस्कार रिजाललाई

राष्ट्रिय सूचना आयोगको १८ औं स्थापना दिवस सम्पन्न


काठमाडौं । 

सूचना अधिकारको प्रवद्र्धन, पारदर्शिता तथा सुशासनमा योगदान पु¥याउने व्यक्तित्वहरूको योगदानलाई सम्मान गर्ने उद्देश्यले राष्ट्रिय सूचना आयोगले आफ्नो १८ औं स्थापना दिवस विशेष कार्यक्रमका साथ सम्पन्न गरेको छ ।

 सोमवार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजना गरिएको भव्य समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न श्रेणीमा उत्कृष्ट सूचनाका अभियन्ता, सूचना अधिकारी, कर्मचारी र पत्रकारहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरेका थिए ।

सोही अवसरमा न्युज अफ नेपालका सम्पादक एवं नेपाल समाचारपत्रका समाचार सम्पादक दीपक रिजाललाई विनय कसजू उत्कृष्ट सूचनाको हक अभियन्ता पुरस्कार २०८२ बाट सम्मानित गरिएको छ ।

 सूचना अधिकारको क्षेत्रमा निरन्तर पत्रकारिता गर्दै आएका रिजालले विभिन्न तहमा जनचासोका मुद्दाहरू उजागर गर्दै नागरिकमा सूचनाको पहुँच विस्तारमा महत्त्वपूर्ण भूमिका खेलेका छन् । उक्त पुरस्कार राष्ट्रपतिबाट हातमा पाउँदा उनले आफ्नो पेसागत धर्मप्रति अझ जिम्मेवार बन्ने प्रतिबद्धता जनाएका छन् ।

राष्ट्रपति पौडेलले सो अवसरमा सूचनाको हक अभियन्ता पत्रकार गजेन्द्र बुढाथोकी, गोरखा पत्रका दैनिकका वरिष्ठ फोटो पत्रकार कविता थापा र हरिराम कोण्डालाई पनि सम्मानित गरेका थिए ।  उनीहरु सबैले सार्वजनिक सूचनाको अभावमा रहेका जनसमुदायलाई सशक्त बनाउने खालका खोजमूलक तथा तथ्यपरक पत्रकारितामा योगदान गरेका छन्।

त्यसैगरी, सूचना प्रवाहलाई प्रभावकारी बनाउने सरकारी संयन्त्रको अङ्गका रूपमा उत्कृष्ट कार्यसम्पादन गर्ने सूचना अधिकारीहरूलाई पनि सम्मानित गरिएको छ । देवीप्रसाद थपलिया, केशव सिलवाल, पदमकुमार श्रेष्ठ, हेमन्तकुमार बुढाथोकी र बुद्धिराम न्यौपानेलाई उत्कृष्ट सूचना अधिकारी पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा राष्ट्रिय सूचना आयोग अन्तर्गत उत्कृष्ट कर्मचारीहरूलाई समेत सम्मानित गरिएको छ । उपसचिवद्वय सन्तोषकुमार दाहाल र सुदर्शन ढकाल, शाखा अधिकृत दिनेश लुइटेल तथा नायब सुब्बा रञ्जना कुमारी दाहाललाई उत्कृष्ट कर्मचारी पुरस्कारबाट सम्मानित गरिएको थियो ।  त्यस्तै सीताराम बस्नेत र माइली तामाङलाई प्रोत्साहन पुरस्कार दिइएको थियो ।