अदिशलाई अस्ट्रेलियामा स्वर्ण


काठमाडौं ।

नेपाली तेक्वान्दो खेलाडी अदिश खड्काले अस्ट्रेलियामा भएको २०२५ गोल्डकोस्ट ओपन अन्तर्राष्ट्रय तेक्वान्दो प्रतियोगतामा आइतबार स्वर्ण पदक जितेका छन् ।

अस्ट्रेलियाको गोल्डकोस्टस्थित करार स्टेडियममा अदिशले १७ वर्षमुनि उमेरसमूह पुरुष एकल पुम्सेमा ६.२३ अंकसहित स्वर्ण जितेका हुन् । दस दिनको अवधिमा अदिशको यो दोश्रो अन्तर्राष्ट्रिय पदक हो ।

यसअघि उनले जापानमा गत अप्रिलमा भएको २१ औं वाटा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको सोही स्पर्धामा रजत जितेका थिए । नामी इन्टरनेसनल कलेजमा ११ कक्षामा अध्ययनरत अदिश तेक्वान्दोमा तेश्रो डान प्राप्त खेलाडी हुन् ।