आज उपाधिको लागि भिड्दै पुलिस र इरान


पोखरा ।

जारी प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब फाइनलमा इरानी टोलीको सामना गर्ने भएको छ ।

लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजित प्रतियोगितामा पुलिसले नेपाल एपीएफलाई ३–० को सेटमा हराएर फाइनलमा पुगेको हो । आइतबार पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको यसअघिको पहिलो सेमिफाइनल खेलमा इरानले त्रिभुवन आर्मीलाई पराजित गरेको थियो ।

पुलिसले एपिएफलाई हराउन त्यति कसरत गर्नु परेन । पहिलो सेट २५–१७ ले जितेको पुलिसले दोस्रो सेट २५–१८ ले जित्यो । तेस्रो सेटमा पुलिसले २५–१५ को नतिजा निकाल्दा एपीएफको यात्रा अन्तिम चारबाटै समाप्त भयो । इरानले भने त्रिभुवन आर्मीलाई ३–१ को सेटमा हराएको थियो । पहिलो सेट आर्मीले २५–२० ले जितेर राम्रो शुरुआत गरेको थियो । तर, यसपछिको सेटमा इरानी टोलीले पुनरागमन गरेपछि आर्मीको फाइनल पुग्ने अवसर गुमेको थियो ।

प्रतियोगिताको विजेताले ४ लाख ४४ हजार ४४४ र उपविजेताले २ लाख ४४ हजार ४४४ रुपैयाँ पाउने छ । तेस्रो हुने टोलीले १ लाख ४४ हजार ४४४ पाउनेछ । सर्वोत्कृष्ट खेलाडीलाई १४ हजार ४४४ र विधागततर्फ उत्कृष्ट हुनेलाई समान ८ हजार ४४४ रुपैयाँ प्रदान गरिनेछ ।