शिक्षक महासंघका  यी माग कार्यान्वय गर्दै सरकार


 काठमाडौ । 

नेपाल शिक्षक महासंघसंग भएको सहमति  मन्त्रिपरिषद्ले  सार्वजनिक गरेको छ । १७ गते बसेको बैठकले हिजो निर्णय सार्वजनिक गरेको छ । निर्णय सार्वजनिक गरेसंगै कार्यान्वयन हुनेछ ।

 जस अनुसार शिक्षक तथा विद्यालय कर्मचारीलाई काठमाडौँमा रहेको निजामती अस्पतालमा उपचार सहुलियत उपलब्ध गराउने व्यवस्था गर्ने, अस्थायी प्रकृतिका शिक्षकको बिरामी बिदा सञ्चित हुने र त्यसबापतको रकम सेवाबाट अलग हुँदाका बखत एकमुष्ट रुपमा प्रदान गर्ने  रहेको छ । सरकारले गरेका निर्णय सरकारका प्रवक्ता एवम सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले हिजो आइतबार सार्वजनिक गर्नुभएको हो ।  

 २५ चैतदेखि शैक्षिक हड्ताल गरी काठमाडौं केन्द्रित आन्दोलन गरेका शिक्षकका माग सम्बोधन गर्न १६ वैशाखमा सरकार सहमत भएपछि आन्दोलन फिर्ता भएको थियो । मन्त्रीपरिषद्को निर्णयमा प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालयका कर्मचारीको पारिश्रमिकका नेपाल सरकारबाट तोके बमोजिम व्यवस्था गर्ने ,

 आगामी आर्थिक वर्ष २०८२–०८३ बाट स्थायी शिक्षकमध्ये प्राथमिक द्वितीय, निमावि तृतीय र मावि प्रथम श्रेणीका शिक्षकहरूलाई निजामती सरह ग्रेड संख्या र रकम कायम गर्ने , स्थायी तथा अस्थायी प्रकृतिका कोटा राहत, अस्थायी, करार, साविक उच्चमाबि, प्राविधिक धार र विषय शिक्षकका सबै शिक्षकको प्रचलित कानुन बमोजिम दुर्गम भत्ता पाउने कानुनी प्रबन्ध गर्ने, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने नियमावलीमा व्यवस्था गर्ने नेपाल सरकारको मर्यादाक्रमको सूचीमा शिक्षकहरुलाई पनि सूचिकृत गर्ने  रहेको छ ।

त्यस्तै आन्दोलनको क्रममा घाइते शिक्षक,पत्रकार र सुरक्षाकर्मीलाई सरकारी अस्पतालमा निःशुल्क उपचारको प्रबन्ध र  निम्नमावितह प्रथम श्रेणीका शिक्षकहरूको तलब तथा ग्रेड मावि द्वितीय श्रेणीका शिक्षकहरूको सरह हुने गरी कायम गर्ने ।