ललितपुर ।
भाषा, संस्कृति र पहिचान जगेर्ना गर्न एकीकृत प्रयास गर्दै आएका नेवाः समुदायअन्तर्गतको स्यस्यः समाज ललितपुरले शनिवार ११औं स्थापना दिवस मनाइएको छ ।
एक दशकदेखि संगठित रूपमा अघि बढ्दै आएको समाजले यसपटक बृहत् रूपमा स्थापना दिवस मनाएको हो । नेवाः समुदायभित्र शिक्षा, रोजगार र व्यापारको हिसाबले तुलनात्मक रूपमा अघि रहे पनि भाषा, संस्कृति र पहिचानबिना समृद्धिको अर्थ नहुने भन्दै सार्वजनिक वृत्तमा उपस्थिति देखाउने हिसाबले विविध कार्यक्रम गरी स्थापना दिवस मनाइएको थियो ।
‘हामी स्यस्यः, हामी नेवाः, हाम्रो परम्परा, हाम्रो परिचय, सबै नेपाली एक ढिक्का, एकजुट हाम्रो राष्ट्रिय’ भन्ने मूल नाराका स्थापना दिवस मनाइएको थियो ।
सो अवसरमा आयोजित बृहत् ¥यालीको उद्घाटन गर्दै उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकासमन्त्री प्रकाशमान सिंहले संविधान दिएको अधिकार र उपलब्धिलाई अभ्यास गर्दै समुदायको हितमा ठोस काम गर्नुपर्ने खाँचो औंल्याउनुभयो । स्यस्यःहरू नेवाः समुदायभित्र विकसित भए पनि राज्यको नीति, भाषा, संस्कृतिमाथिको थिचोमिचो गर्दा उत्थान प्रभावित भएको उल्लेख गर्दै उपप्रधानमन्त्री सिंहले अहिले संविधान दिएको अधिकारलाई प्रयोग गर्दै अघि बढ्नुपर्ने बताउनुभयो ।
‘अधिकारका लागि संगठनको महत्वपूर्ण भूमिका हुन्छ । मातृभाषा, सांस्कृतिक सम्पदा, परम्परा, रीतिरिवाज र संस्कृतिका लागि एकताबद्ध काम गर्नुपर्दछ’ –उपप्रधानमन्त्री सिंहले भन्नुभयो । मंगलबजारबाट शुरू भएको ¥याली नगरका विभिन्न भागमा परिक्रमा गरी पाटनढोका बालिफमा गएर सभामा परिणत भएको थियो ।
¥यालीमा नेपाल भाषा जोगाऔं, संस्कृति, सम्पदा बचाऔं, अधिकारसहितको जातीय सद्भाव लेखिएका प्लेकार्ड बोकेर विभिन्न महिला समूह, विभिन्न क्षेत्रमा कार्यरत समाजका सदस्यको उपस्थिति रहेको थियो । ¥यालीमा ललितपुर क्षेत्र नं ३ का सांसद डा. तोसिमा कार्कीको समेत उपस्थिति रहेको थियो ।
नेवाः समुदायभित्रका श्रेष्ठ, जोशी, प्रधान, अमात्य, मल्ल र कर्माचार्यहरू स्यस्यःअन्तर्गत रहेका छन् । मल्लकालमा शासनसत्तामा रहेका स्यस्यःहरू आधुनिक नेपालको निर्माणसँगै कोही जागिर त कोही उपत्यका छाडेर जानुपरेको थियो । नेवाः समुदायभित्र आर्थिक स्थिति, शिक्षामा पहुँचको हिसाबले सबल रहे पनि नेपाल भाषा, संस्कृति हराउँदै गएको र पहिचान नै क्रमशः खस्किँदै गएकोमा चिन्ता प्रकट गर्दै संस्थागत रूपमा अघि बढेको समाजका अध्यक्ष नवीनमंगल जोशीले बताउनुभयो ।
‘आदिवासी जनजाति नेवाः समुदायभित्रको एक महत्वपूर्ण जातका रूपमा रहेको स्यस्यहरू बसोबास अहिले सीमित क्षेत्रमा मात्र नभई छरिएर रहेको छ । यस अवस्था पहिचानको अवयवका रूपमा रहेको भाषा, संस्कृति, नेवाःसभ्यतालाई प्रवद्र्धन गर्न समाज संगठित रूपमा अघि बढ्दै आएको छ’ –उहाँले भन्नुभयो । सो अवसरमा वाग्मती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले संघीयता, लोकतन्त्र बलियो बनाउन समुदायको पहिचान र विकास महत्वपूर्ण रहेको धारणा राख्नुभयो ।
स्थापना दिवस मनाउँदै गर्दा स्यस्यः समाजले नेवाः समुदायको हक अधिकार र एकतालाई पनि जोड दिएको पाइएको छ । समुदायको साझा सरोकार र हितलाई आपसी समन्वय, सहकार्यबाट प्राप्त गर्न सकिने समाजका सचिव चन्द्रकृष्ण श्रेष्ठको भनाइ छ । स्यस्यः समाज संगठित भए अघि बढ्दै जाँदा ललितपुरमा क्रियाशील नेवाः समुदायका विविध जातिहरूको साझा र प्रतिनिधिमूलक संगठन यल नेवाः समाजको प्रभावकारी र क्रियाशीलतालाई पनि जोड दिँदै आएको सचिव श्रेष्ठले बताउनुभयो ।
नेवाः समुदायका २१ जाति अब एउटै संरचना अटाउने गरी स्थापित यल नेवाः समाजमा कर्माचार्य, कपाली, खड्गी, चित्रकार, ज्यापू, जोशी, तण्डुकार, ताम्रकार, द्योला, नकर्मी, नापित, वाद्यकार, बाराही, बौद्ध विहार संघ, रजक समाज, रञ्जितकार समाज, राजोपाध्याय, स्यःस्यः, सिकःमी र शिल्पकार समाज आबद्ध रहेको छ ।
नेवाः समुदायभित्रको आआफ्नो जातिको घेरामा संगठित हुनुका साथै सामूहिक रूपमा क्रियाशील हुनुपर्ने समाजको ठम्याइ रहेको समाजका उपाध्यक्ष न्हुच्छेबहादुर नेम्कुलको धारणा रहेको छ । आफ्नो जातिभित्र चल्दै आएको संस्कार, रीतिरिवाजको संरक्षणका साथै नेवाः समुदायको हकहित, नेपाल भाषा, संस्कृति र परम्पराको जगेर्ना गर्न अलगअलग रूपमा कार्यरत ती संगठनले एकीकृत रूपमा समन्वय गर्दै अघि बढ्न समाजले काम गर्दै आएको उपाध्यक्ष नेम्कुलले बताउनुभयो ।











प्रतिक्रिया