चिकित्सक र सरकारबीच सहमति, आन्दोलन टुंगियो


काठमाडौं ।
आन्दोलनरत आवासीय चिकित्सक र सरकारबीच शनिबार सहमति भएको छ । सहमति भएसँगै आवासीय चिकित्सकहरुको आन्दोलन टुंगिएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, नेपाल चिकित्सक संघ र आवासीय चिकित्सकबीच भएको छलफलपछि सहमति जुटेको हो ।

चिकित्सा शिक्षा आयोगको १६औं बैठकको निर्णय कार्यान्वयन गर्ने, म्याचिङका चिकित्सकहरुका लागि यथाशीघ्र शुरु गर्न चिकित्सा शिक्षा आयोगलाई निर्देशन दिने र बिदाका विषयहरुमा कार्यदल बनाएर स्वास्थ्य मन्त्रालयले पूरा गर्न सक्ने कुरा स्वास्थ्य मन्त्रालयबाट र नसकेका कुरालाई निर्देशन गरेर पठाउने सम्झौता भएसँगै आवासीय चिकित्सकहरु आन्दोलन छोड्न सहमत भएका हुन् ।

सहमतिपछि सञ्चारकर्मीसँगको कुराकानीमा मन्त्री पौडेलले आवासीय चिकित्सकका मागहरू पूरा गर्न स्वास्थ्य मन्त्रालय तयार रहेको र त्यसको कार्यान्वयन गर्ने सहमति भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘यो सहमतिपछि नेपाल चिकित्सक संघ आन्दोलन फिर्ता लिन तयार भएको छ ।

उहाँहरूसँग भएको सम्झौतालाई हामीले इमानदारितापूर्वक कार्यान्वयन गर्नेछौँ । केही विषयहरु जुन चिकित्सा शिक्षा आयोगले निर्णय गरेको थियो, त्यसलाई कार्यान्वयन छिटो नभएको, सहज ढंगबाट नभएको विषय उहाँहरूको पछिल्लो विषय थियो । त्यसलाई छिटो कार्यान्वयन गर्ने सम्बन्धमा प्रतिष्ठानअन्तर्गतका कलेजहरु पनि क्रमशः कार्यान्वयन गर्न तयार भएको स्थिति छ ।’

उहाँले चिकित्सकहरुको आन्दोलनपछि निजी मेडिकल कलेजबाट पनि आठौं तह सरह भत्ता दिने प्रतिबद्धता आएको र विभिन्न कलेजमा आवासीय चिकित्सकहरु काम गर्न फर्किसकेको पनि बताउनुभयो ।