किट युनिभर्सिटीमा नेपाली विद्यार्थीको मृत्यु, छानविन गर्न परराष्ट्र मन्त्रालयबाट कुटनीतिक पहल


काठमाडौं ।

भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट)मा अध्ययनरत नेपाली छात्रा प्रिसा शाह बिहीबार राति होस्टेलमा मृत फेला परेकी छन्।

वीरगन्ज निवासी शाह स्नातक तह दोस्रो सेमेस्टरमा अध्ययनरत थिइन्। उनका कक्षासाथी सुयोग लम्सालका अनुसार, शाह मेहेनती, शालीन र सबैसँग राम्रो व्यवहार गर्ने विद्यार्थी थिइन्। शव होस्टेल कोठामा झुन्डिएको अवस्थामा भेटिएपछि कलेज प्रशासन, स्थानीय प्रहरी र नेपाली दूतावासका प्रतिनिधिहरू घटनास्थल पुगेका छन्। भुवनेश्वर प्रहरीले शाहको परिवार नआएसम्म शव परीक्षण नगर्ने जनाएको छ।

यस घटनापछि परराष्ट्र मन्त्रालयले गम्भीर ध्यान दिँदै भारत सरकार, ओडिसा राज्य सरकार तथा नयाँ दिल्लीस्थित नेपाली दूतावासमार्फत आवश्यक कूटनीतिक पहल सुरु गरेको जनाएको छ। परराष्ट्रमन्त्री आरजु राणा देउवाले सत्यतथ्य छानबिनको माग गरिरहेकी छिन्।

यसअघि पनि गत ४ फागुनमा सोही कलेजमा अध्ययनरत भैरहवा निवासी प्रकृति लम्साल होस्टेलमै मृत फेला परेकी थिइन्। त्यतिबेला मानसिक दुर्व्यवहार र ब्ल्याकमेलको आरोप लागेको थियो। त्यस घटनापछि भारतको राष्ट्रिय मानव अधिकार आयोगले कलेज प्रशासनलाई गम्भीर लापरवाही गरेको ठहर गरेको थियो।

हाल किट युनिभर्सिटीमा करिब १५ सय नेपाली विद्यार्थी अध्ययनरत छन्। लगातार यस्ता घटनाले विद्यार्थी तथा अभिभावकहरूमा गहिरो त्रास फैलिएको छ। विद्यार्थीहरू सुरक्षित छैनौं भन्दै निष्पक्ष र गहिरो छानबिनको माग गरिरहेका छन्।