विराटनगर ।
लगानी सम्मेलनमार्फत करिब २ खर्ब रुपियाँ बराबरको लगानी भित्र्याउने लक्ष्यसहित कोशी प्रदेश लगानी सम्मेलनमा ७१ वटा परियोजना सार्वजनिक गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार उद्घाटन गर्नुभएको उक्त सम्मेलनमा पर्यटन, कृषि, ऊर्जा, सूचना प्रविधि, पूर्वाधार र उद्योग क्षेत्रमा वैदेशिक तथा आन्तरिक लगानी प्रवाह गर्ने लक्ष्य लिइएको छ। लम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले कोशी प्रदेशमा लगानीका लागि नुकूल वातावरण भएकाले ढुक्क भई लगानी गर्न आग्रह गर्नुभयो । उहाँले नेपालमा लगानीको लागि कुनै किसिमको समस्या नरहेको दाबी गर्दै पूर्वाधारको सुदृढीकरण, करमैत्री नीति तथा ढुवानीको सहजताको कारण अब लगानीकर्ता विश्वस्त हुन सक्ने आधार प्रस्तुत गर्नुभयो।
उहाँले मदन भण्डारी राजमार्ग, कोशी, तमोर, किमाथांका, टिपताला नाकाहरू खुला भइसकेको र कोशी करिडोर विकास हुँदै गएकाले जहाँ पनि सामान ढुवानी गर्न सहज हुने तर्क गर्दै सुदृढ सडक सञ्जालबाट भौतिक पहुँचमा समस्या नरहेको उल्लेख गर्नुभयो । साथै, उहाँले हुलाकी राजमार्ग अन्तर्गत कनकाई र कमलामा पुल बनेपछि चितवनसम्मको यात्रा झनै सहज हुने र एसियाली मापदण्डअनुसार राजमार्ग निर्माण भैरहेकाले लगानी सुरु गर्दा बजारसम्म ढुवानी पुग्ने सुनिश्चितता रहेको बताउनुभयो ।
सरकारको तर्फबाट दोहोरो कर नलाग्ने स्पष्ट प्रतिबद्धता जनाउँदै प्रधानमन्त्री ओलीले लगानीबाट प्राप्त मुनाफा लगानीकर्ताले आफू आएको देशमा सहजै लैजान सक्ने व्यवस्थामा सरकारले कुनै अड्चन नल्याउने आश्वासन दिनुभयो । उद्योग र उद्यमशीलताको प्रवद्र्धनका लागि सरकारले आवश्यक नीति, संरचना र सहयोग दिन तयार रहेको समेत उहाँको भनाइ थियो ।
तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा १ खर्ब ७३ अर्ब ४९ करोड रुपियाँ बराबरको ७१ वटा परियोजना प्रस्तुत गरिएको छ । सम्मेलनमा ४५ जना विदेशी लगानीकर्तासँग संवाद गरिएकोमा २० जना विदेशी लगानीकर्ता प्रत्यक्ष सहभागी भएको कोशी प्रदेश सरकारले जानकारी दिएको छ ।











प्रतिक्रिया