कोशी प्रदेशमा लगानी सम्मेलन, ७१ वटा परियोजनाका लागि करिब २ खर्ब लगानी भित्र्याउने योजना

1.03k
Shares

विराटनगर।

कोशी प्रदेशमा ७१ वटा परियोजनाका लागि करिब २ खर्ब अनुमानित लगानी भित्र्याउने गरी प्रदेश राजधानी विराटनगरमा लगानी सम्मेलन सुरु भएको छ। सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।

उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले कोशी प्रदेश लगानीको लागि असाध्यै अनुकूल वातावरण भएको भन्दै लगानी गर्न आग्रह गरे । प्रधानमन्त्री ओलीले नेपालमा लगानीको लागि कुनै समस्या नभएको पनि उल्लेख गरे । यस्तै ढुक्कले लगानी गर्न सकिने भएकोले पूर्वाधारको हिसाबले यहाँको सडक सञ्जालसँग कुनै समस्या नभएको ओलीले बताए । प्रधानमन्त्रीले सडक सञ्जालमा हुलाकी राजमार्गको कनकाई र कमलामा पुल बनाउने बित्तिकै चितवनसम्म सहज पुग्न सकिने, माथि एसियन मापदण्डको राजमार्ग बन्दै गरेकोले लगानी सुरु गरेदेखि बजारीकरण गर्दासम्म राजमार्ग तयार भइसक्ने बताए । मदन भण्डारी राजमार्ग, कोशी, तमोर, किमाथांका, टिप ताला नाका लगायत सबै क्षेत्र खुलिसकेकोले कोशी करिडोरहरु बनिरहेकोले जहाँ पनि सामान ढुवानी गर्न सहज हुने भएकोले विश्वस्त भएर लगानी गर्न समेत आग्रह गरे । यस्तै प्रधानमन्त्रीले प्राकृतिक क्षेत्र सगरमाथा, चोयु, ल्होत्से, मकालु, कन्चनजंगा तथा कुम्भकर्ण हिमाल लगायतमा पनि लगानीको सम्भावना भएको उल्लेख गरे।

प्रधानमन्त्री ओलीले माउन्ट एभरेस्ट नक्कली नाम भएको बताए । उनले सगरमाथा भनेको सगरमाथा नै भएकोले सगरमाथाको नाम माउन्ट एभरेस्टको नाम सगरमाथा भएको दाबी गरे । ओलीले भने, ‘अन्य हिसाबले जे–जे भने पनि पर्यटनको आकर्षणको केन्द्र सगरमाथाको नामलाई सगरमाथा नै कायम राख्नुपर्छ ।’ सरकारको तर्फबाट दोहोरो कर लाग्न नदिने दाबी उनले गरे । प्रधानमन्त्रीले लगानी गरेपछि लाग्ने कर तिरेपछि मुनाफा जुन देशबाट लगानी गर्न आएका लगानी कर्ता हुन् उसले लिएर जान पाउने भएकोले त्यसमा सरकारले कुनै अप्ठ्यारो नबनाउने बताए । उद्यमशीलताको विकासकालागि सरकारले साथ र सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाए ।

लगानी सम्मेलनमा सहभागी हुन कर्णाली प्रदेश र मधेस प्रदेशका मुख्यमन्त्री सहित पालिकाका प्रमुखहरू सहित देश र विदेशी लगानी कर्ताहरूको सहभागी छन्। ७१ वटा परियोजनाको कुल १ खर्ब ७३ अर्ब ४९ करोड लगानी अनुमानसहितका परियोजना सोकेससहित सुरु भएको लगानी सम्मेलन शुक्रबारसम्म चल्नेछ । लगानी सम्मेलनमार्फत पर्यटन, कृषि, उद्योग, ऊर्जा, पूर्वाधार, आईटी सेवालगायतका क्षेत्रमा लगानी भित्र्याउने योजना छ। ४५ जना विदेशी लगानीकर्तासँग छलफल गरिएकोमा २० जना विदेशी लगानीकर्ता लगानी सम्मेलनमा सहभागी भएको प्रदेश सरकारले जनाएको छ ।

लगानी सम्मेलनमा राजावादीको आलोचना

प्रधानमन्त्री लगानी सम्मेलनको उद्घाटन गर्दै राजावादीहरु विरुद्ध खनिएका छन् । पूर्व नवयुवराज ह्दयेन्द्र शाहका विषयमा अभिनेत्री सुरक्षा पन्तले दिएको अभिब्यक्तिपछि उनको आलोचना भएको विषयमा प्रधानमन्त्रीले कलाकारले आफूलाई लागेको कुरा व्यक्त गर्दा गाली गरिएको भन्दै आलोचना गरे ।

लगानीका लागि भारत, चीनसहितका छिमेकी देशबाट आएका डेढ दर्जन लगानीकर्तासहित ठूलो संख्यामा रहेका स्वदेशी लगानीकर्ताहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले राजावादीहरुले असहिष्णुता प्रकट गरेको टिप्पणी गरे । ‘उनीहरुको असहिष्णुता कस्तो छ भन्ने् देख्नका लागि एकजना कलाकारले कुनै राजनीतिको एक शब्द सर्मथनमा बोले,’ प्रधानमन्त्री ओलीको भनाइ छ, ‘त्यो कलाकारलाई खेदेर खप्नुखानु भएन। उ त पोलिटिकल मान्छे त होइन। उसले आफूलाई लागेको कुरा पाक्व बोलिदियो। यसलाई खेदेर उधुम।’ उनले अभिनेत्री सुरक्षा पन्तले राम्रो कुरा गर्दा पनि अनावश्यक आलोचना भएको बताउँदै भने ‘एउटा बच्चाका बारेमा उनीसँग सोधियो– कस्तो लाग्छ त्यो बच्चा?,’ ओलीले भने, ‘कसैको छोराछोरीको बारेमा सोध्नुपर्ने, देशभरी यत्रा छोराछोरी। कसैका नातीनातिनाकाबारेमा सोध्नुपर्ने केही जरुरी थियो? तर, सोधिहाले। गुडलुकिङ हुनुहुन्छ, कला क्षेत्रमा आउनुभयो भने मार्केट जम्छ जस्तो छ भनेको छ। कति राम्रो कुरा गरेको छ हेर्नुहोस् त। त्यो पनि भन्न नपाइने। के भनिदिनुपर्ने?’ राजा हुने अहिले व्यवस्था नै नभएको भन्दा पनि आलोचना भएको भन्दै प्रधानमन्त्रीले पूरानै पञ्चायती दिन सम्झेर राजावादीहरुले कलाकारको आलोचा गरेको टिप्पणी गरे । ‘अनि सोध्छ–राजा बन्ने पनि कुरा छ नि? त्यस्तो त हाम्रोमा व्यवस्था नै छैन। त्यति भन्या छ,’ ओलीको भनाइ छ, ‘त्यो व्यवस्था नै छैन, कसरी होला र? यति भन्दा त्यसको फिलिम नहेर। त्यसले खेलेको नहेर? त्यसले गाएको गीत मिठो भए पनि नसुन। उसको नृत्य राम्रो भए पनि नहेर। उसको कला राम्रो भए पनि नहेर। कति साह्रो असहिष्णु?उही पुराना पञ्चायती दिन सम्झिएको छ क्या।’ बुधबारमात्रै पनि प्रधानमन्त्रीले यही विषयमा टिप्पणी गरेका थिए । प्रधानमन्त्रीले राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको ९ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सुरक्षाले जस्तै कलाकार बन्न नै हृदयेन्द्रलाई सुझाव दिएका थिए ।