पाँच घण्टापछि कारागारबाट छुटे रेशम चौधरी

सर्वोच्चको लेटरप्याडको दुरुपयोग गर्दै किर्ते

2.16k
Shares

काठमाडौं ।

एक अधिकृतले सर्वोच्च अदालतको लेटरप्याडको दुरुपयोग गर्दै किर्ते गरेको कारण नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी बुधबार चार घण्टा कारागार रहन बाध्य हुनुभएको थियो । यस विषयले सर्वोच्च अदालतमा बुधबार दिनभर ठूलो बबन्डर मच्चिएको थियो ।

सर्वोच्चको मुद्दा तथा रिट महाशाखाका शाखा अधिकृत महिमानसिंह विष्टद्वारा अदालतको लेटरप्याड दुरुपयोग गर्दै आफ्नो हस्ताक्षरसहित चलानी नम्बर १९२७७ को पत्र लेखेर चौधरीलाई पक्राउ गर्ने पत्र जारी गरिएको थियो । विष्टले आफ्नो जिम्मेवारीभन्दा बाहिर गई अन्य पदाधिकारीलाई तोकिएको जिम्मेवारी ग्रहण गरी अदालतको लेटर प्याड, छाप र पदको दुरूपयोग गरी पत्र लेख्नुभएको थियो । सोही पत्रका आधारमा प्रहरीले चौधरीलाई पक्राउ गरी डिल्लीबजारमा कारागार राखेको हो ।

जनमत पार्टीका अध्यक्ष सीके राउत र नागरिक उन्मुक्ति पार्टीबीच एकता गर्ने तय भएको दिन अधिकृत विष्टले सनकको भरमा पत्र लेखेर आफैं जिल्ला प्रहरी परिसर काठमाडौं र डिल्लीबजार कारागार पुग्नुभएको थियो । उहाँले पठाएको पत्रमा राष्ट्रपतिबाट आममाफी पाएका रिगल ढकालसमेतको मुद्दाको फैसलाको समेत नजिर प्रस्तुत गरी त्यसकै आधारमा हाललाई कैदमा राख्न भनिएको थियो । राष्ट्रपतिबाट ढकालले आममाफी पाएपछि भारती शेर्पाले दायर गरेको रिटमा सर्वोच्चले फैसलाको व्याख्या गरेपछि ढकाल पुनः थुनामा गएका थिए ।

प्रहरीले सोही पत्रको आधारमा चौधरीलाई कमलादीस्थित प्रज्ञा प्रतिष्ठानबाट पक्राउ गरेपछि दुई पार्टीबीच हुने भनिएको एकता स्थगित भएको थियो । सर्वोच्च अदालतका कुनै पनि न्यायाधीशले चौधरीलाई थुनामा पठाउने भन्ने फैसला गरेका छैनन् । तर, सर्वोच्चको मुद्दा शाखाले योगराज ढकाल (रिगल) को मुद्दामा २०८० कात्तिकमा गरेको फैसलामा टेकेर सो पत्र पठाइएको थियो । यसरी एउटा मुद्दाको नजिरमा टेकेर अर्को मुद्दाको कार्यान्वयनबारे पत्र पठाउने अधिकार सर्वोच्चको मुद्दा तथा रिट शाखालाई नभएको कुरो बाहिर उठेको थियो ।

चौधरीलाई आममाफी दिने निर्णयविरुद्ध शारदा कठायतले सर्वोच्चमा रिट निवेदन दर्ता गराउनुभएको थियो । उक्त रिट अहिले पनि विचाराधीन छ । विष्टको नामबाट जारी भएको पत्र शंकास्पद र कानुनसम्मत नभएको सर्वोच्च अदालतले विज्ञप्ति प्रकाशित गरी जानकारी दिएको थियो ।

‘यस अदालतको शाखा अधिकृतले च.नं. १९२७७ मिति २०८२।०१।१७ को कारागार कार्यालय डिल्लीबजार काठमाडौंलाई लेखिएको पत्र अनधिकृत रहेकोले उक्त माथि उल्लेखित च.नं. र मितिको अनुरोध पत्र कार्यान्वयन नगर्न अनुरोध गर्दै सम्बन्धित निकायमा पत्राचार गरिसकिएको र अनधिकृत रूपमा सो पत्र लेख्ने अधिकृतलाई कानुनबमोजिमको कारबाहीको प्रक्रिया सुरू गरिएको बेहोरा सबैमा जानकारीको लागि अनुरोध छ’ विज्ञप्तिमा भनिएको छ ।

त्यसपछि त्यो पत्र कार्यान्वयन नगर्न भन्दै कारागार प्रशासन र प्रहरीलाई अर्को पत्र पठाएको सर्वोच्चले अर्को पत्र पठाएपछि चौधरीलाई थुनामुक्त भएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले बताउनुभयो ।विष्टले अनधिकृत रूपमा सर्वोच्चको लेटरप्याड दुरुपयोग गरेको विषयलाई एक जना कर्मचारीको सामान्य त्रुटिका रूपमा लिन नहुने टिप्पणी गर्दै जनमत पार्टीका अध्यक्ष सीके राउतले पार्टी एकता हुने बेलामा नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीलाई पक्राउ गर्नु एकता भाँड्नको लागि भएको आरोप लगाउनुभयो। उहाँले एकता भाँड्न कर्मचारीलाई मोहरा मात्रै बनाइएको आरोप लगाउनुभयो ।

यसैबीच सर्वोच्च अदालतको लेटरप्याड दुरुपयोग र किर्ते गरी डिल्लीबजार कारागारलाई पत्र पठाएका सर्वोच्च अदालतका शाखा अधिकृत विष्टलाई पक्राउ गरी जिल्ला प्रहरी परिसर भद्रकाली लगिएको छ । सर्वोच्चले आन्तरिक छानबिन गरी बुधबार अपराह्न विष्टलाई प्रहरीको जिम्मामा लगाएको हो ।

उहाँलाई सर्वोच्च परिसरबाटै पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिनुभयो। उहाँविरूद्ध मुलुकी अपराध संहिता, दफा ८४, दफा ८७ र २७६ अनुसार कारबाही गर्न भनेर सर्वोच्चले प्रहरीलाई पत्र पठाएको थियो ।