आजको मौसम : काठमाडौं बिहानैदेखि सामान्य वर्षा


काठमाडौं ।

देशभर पश्चिमी वायु, स्थानीय प्रणाली र बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव देखिँदै गएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको असरले हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको स्थिति छ भने अन्य क्षेत्रमा आकाश सफा देखिएको छ ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा अहिले चट्याङ्गसहित हल्का वर्षा भइरहेको जानकारी महाशाखाले दिएको छ ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । विशेषगरी पहाडी भेगका थोरै स्थानहरूमा र अन्य क्षेत्रका एक–दुई ठाउँमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै, हिमाली क्षेत्रमा हिमपात हुनसक्ने अनुमान गरिएको छ । लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागमा हावाहुरीको सम्भावना पनि उच्च रहेको छ ।

राती पहाडी क्षेत्रका केही स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षा हुनसक्छ । साथै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको छ ।

मौसमी प्रणालीका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने सम्भावना रहेकोले महाशाखाले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।