वरिष्ठ मूर्तिकार कालु कुम्हाः र सन्तकुमारलाई सम्मान


 ललितपुर।

नेपालको हस्तकलाको विकासमा उल्लेखनीय योगदान पु¥याउने दुई जना वरिष्ठ मूर्तिकारलाई सम्मान गरिएको छ ।

ललितपुर हस्तकला संघले आयोजना गरेको हस्तकला महोत्सवको अवसरमा पाटन दरबार क्षेत्रस्थित भण्डारखाल बगैँचामा आयोजित एक समारोहकाबीच वरिष्ठ कालु कुम्हाः र मूर्तिकार सन्तकुमार शाक्यलाई सम्मान गरेको हो।

वरिष्ठ मूर्तिकारद्वयले नेपाललाई हस्तकलाको माध्यमबाट देश र विदेशमा चिनाउन महत्त्वपूर्ण योगदान वापत सम्मान गरिएको संघका उपाध्यक्ष कार्यक्रम संयोजक राकेश बज्राचार्यले जानकारी दिए।

सम्मानित हुनेहरुलाई संघका अध्यक्ष प्रदीप बज्राचार्यले दोसल्ला र वाग्मती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले सम्मानपत्र प्रदान गरे।

सो अवसरमा मन्त्री महर्जनले हस्तकला क्षेत्रको विकासको लागि प्रदेश सरकार गम्भीर रहेको बताउँदै सो को विकासको लागि यथोचित सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

समारोहमा संघका अध्यक्ष प्रदीप बज्राचार्य, उपाध्यक्ष राकेश बज्राचार्य र सचिव कपिल शाक्य लगायतले हस्तकलाको क्षेत्रको प्रर्वद्धन, युवापुस्तालाई आकर्षण गर्न राज्य जिम्मेवार हुनुपर्नेमा जोड दिँदै आआफ्नो धारणा राखेका थिए।

यसैबीच हस्तकला व्यवसायीलाई प्रवर्द्धन गर्न दुई दिने मेला आयोजना गरिएको थियो।