तिनै तहका सरकार मिलेर काम गरे मात्र प्रभावकारी नतिजा ल्याउन सकिन्छ : स्वास्थ्य मन्त्री पौडेल

0
Shares

काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा तिनै तहका सरकार मिलेर काम गरे मात्र प्रभावकारी नतिजा ल्याउन सकिने बताए ।

उनले मंगलबार स्वास्थ्य मन्त्रालयमा आयोजित स्वास्थ्य समन्वय समितिको तेस्राे बैठकमा उक्त भनाई राखेका हुन् । तीन तहको सरकारको समन्वय नहुँदा सबैले गरेका काम दोहोरिनुका साथै काम गर्ने तवर तरिका फरक हुँदा नतिजा राम्रो आउन नसकेको बताए ।

आगामी दिनमा तीनै तहका सरकारले काम नदोहोरिने गरि बजेट निर्धारण गरि हाल देखा परेका स्वास्थ्य समस्याको मिलेर समाधान गर्नुपर्नेमा जोड दिए । उनले स्थानीय तह, प्रदेश तथा संघ अन्तर्गतका अस्पतालहरुमा आवश्यकता अनुसारको जनशक्ति र श्रोत साधन पुर्याउन नसकिएको अवस्थामा भएको जनशक्ति, स्रोत, साधनको परिचालन राम्रोसँग गर्ने हो भने अहिलेकै जनशक्ति र श्रोत साधनबाट पनि धेरै काम गर्न सकिने बताए ।

मन्त्री पौडेलले विशिष्टिकृत उपचार सेवा हरेक प्रदेशमा पुर्याउन प्रयास भएको र प्रदेश सरकार र स्थानीय तहबाट पनि उत्तिकै साथ र सहयोगको अपेक्षा गरिएको बताए । उनले भने-क्यान्सर उपचार सेवा, मुटु उपचार र प्रत्यारोपण सेवा क्रमश प्रदेश स्तरमा विस्तार गर्दै गरेकाछौँ ।

यसका साथै ‘जलन उपचार पनि सातै प्रदेशमा पुर्याउने योजना छ । प्रदेको पूर्ण साथ मिलेमा यस्ता सेवा प्रभावकारी हुन्छ भन्ने विश्वास छ ।’ उपचार मात्र नभै रोग नै लाग्न नदिने तर्फ पनि तिनै तहको सरकारले ध्यान दिनुपर्छ । हाम्रो यो बैठकले यस्ता काम गर्न आवश्यक तयारीका लागि निकास दिन सफल हुने विश्वास लिएको छु । मन्त्री पौडेलले भने- विश्वमा सर्ने भन्दा नसर्ने रोगको बढ्दो चाप रहेको अवस्थामा ‘ नसर्ने रोगको निःशुल्क स्कृनिङ गर्न पालिकालाई २ लाख दिंदैछौं,’ ‘प्रदेश र पालिकाले पनि सहयोग गरौं । सबै मिलेर नसर्ने रोग कम गर्न व्यापक सहकार्य गरौं ।’

स्वास्य बीमाका बिषयमा पनि सहकार्य गरौंं । उक्त बैठकमा सातै प्रदेशका स्वास्थ्य मन्त्री, नगरपालिका तथा गाउँपालिका महासंघका प्रतिनिधि तथा ललितपुर महानगरका प्रमुख, बीमा बोर्डका कार्यकारी निर्देशकसँगै मन्त्रालयका अधिकारीहरु सहभागी थिए ।