राति पारित भएको प्राधिकरणको श्वेतपत्र बिहानै अलपत्र


काठमाडौं।

नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकालमा भए गरेका निर्णय र प्राधिकरणको वर्तमान अवस्थाबारे जानकारी दिन मंगलबार विहान सार्वजनिक गर्ने भनिएको श्वेतपत्र अचानक रोकिएको छ । प्राविधिक कारण देखाउँदै अर्को सूचना नआएसम्मका लागि श्वेतपत्र जारी गर्ने कार्यक्रम स्थगित गरिएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको सचिवालयले जानकारी दिएको छ ।

सोमबार साँझ करिब ४ घण्टासम्म ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको अध्यक्षतामा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले ७५ पृष्ठको श्वेतपत्र पारित गरेपछि मंगलबार सार्वजनिक गर्ने कार्यक्रम तय भएको थियो । बोर्डले निर्णय गरेपछि सोमबार साँझ र मंगलबार विहानैसम्म पनि साढे ११ बजे पत्रकार सम्मेलन गरी श्वेतपत्र जारी गर्ने भन्दै सञ्चार माध्यममा खबर गरिए थियो । तर, विहान अचानक कार्यक्रम स्थगित भएको सूचना पठाइएको थियो ।

प्राधिकरण स्रोतका अनुसार सोमबार तयार भएको श्वेतपत्रप्रति ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र उनको टिम सन्तुष्ट हुन नसकेपछि मंगलबारको कार्यक्रम स्थगित भएको हो । सोमबार सञ्चालक समितिमा पेश गरिएका तथ्यांकहरुमा पुनर्विचार गर्दै ती तथ्यांकलाई सच्याउन प्राधिकरणलाई निर्देशन आएको र सो निर्देशनउपर प्राधिकरणका कर्मचारीहरुले तत्कालै निर्णय गर्न नसकेका कारण श्वेतपत्र रोकिएको स्रोतको भनाइ छ ।

श्वेतपत्रमा कुन–कुन तथ्यांक सच्याउन दबाब आएको छ भन्ने खुलेको छैन । तथापि, मन्त्री खड्काले संसदमा बोलेजस्तो अवस्था प्राधिकरणमा नदेखिएको, थोरै प्रतिशत तलमाथि मात्रै देखिएको र महालेखा परीक्षकको प्रतिवेदनलाई प्राधिकरणका कार्मचारीले प्रश्न उठाउन नसक्ने अवस्था आएकाले त्यसको व्यवस्थापन गर्न श्वेतपत्र रोकिएको स्रोतको दाबी छ ।

प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्ती र नयाँ कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको नियुक्ति भएकै राति एक महिना अघि बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले श्वेतपत्र जारी गर्ने निर्णय गरेको थियो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले संसदलगायत सार्वजनिक कार्यक्रममा प्राधिकरणको वित्तीय अवस्था खराब रहेको, निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरण नाफा गरेको तथ्य गलत रहेको दाबी गर्दै तथा वित्तीय रूपमा टाट पल्टिन लागेको प्राधिकरणको शेयर सर्वसाधारणलाई बिक्री गर्न खोजिएको आरोप लगाउँदै आएका बेला नयाँ कार्यकारी निर्देशकले जारी गर्ने श्वेत पत्र कस्तो होला ? भन्ने सर्वत्र चासोे छ ।

३०औं वर्षसम्म प्राधिकरणमा कार्यरत रहेका, प्राविधिक रूपमा दक्ष मानिएका प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जारी गर्ने श्वेत पत्रले प्राधिकरणको वास्तविकता देर्शाउने अपेक्षा गरिएको थियो । स्वयम् शाक्यले पनि प्राधिकरणको वास्तविकता देर्शाउने श्वेत पत्र आउने र त्यसका निम्ति आफू गाली वा अपजस लिन तयार रहेको बताउँदै आएका थिए । तर, शाक्यले तयार पारेको श्वेत पत्रप्रति मन्त्रालयबाट असहमति जनाउनुले अब आउने श्वेत पत्रप्रतिको विश्वसनीयतामाथि प्रश्न उठाउने प्राधिकरणका पूर्वअधिकारीहरु बताउँछन् ।

‘हितेन्द्रजीको प्राविधिक क्षमता धेरै राम्रो छ । उहाँको ज्ञान र दक्षतालाई निर्खादै प्राधिकरणमा व्यवस्थापकीय जिम्मेवारी पनि पूरा गर्नुपर्ने चुनौती छ । उहाँको अघिल्लो कार्यकालका बेलाको भन्दा अहिले त्यो चुनौती बढी छ । एक महिनाको अवधिका गतिविधि र उहाँमाथिको दबाबलाई बाहिरबाट विश्लेषण गर्दा हितेन्द्रजीलाई अहिलेको मुख्य काममा ध्यान केन्द्रित गर्न नदिएर स्वार्थ समूहले घेराबन्दी गर्दै लगेको संकेत देखिन्छ ।’ प्राधिकरणका निवर्तमान उपकार्यकारी निर्देशकले नेपाल समाचारपत्रसँग बताए ।

स्रोतका अनुसार प्राधिकरणको सञ्चित नाफा ४६ अर्ब ४७ करोड रूपियाँ रहेको सोमबार तयार गरिएको श्वेतपत्रमा उल्लेख छ । घिसिङले आर्थिक वर्ष २०८०-८१ सम्म करिब ४७ अर्ब सञ्चित नाफा रहेको दाबी गर्दै आएका थिए । त्यस्तै चालू आर्थिक वर्षको फागुन मसान्तसम्म प्राधिकरणको नाफा ९ अर्ब ४८ करोड देखिएको छ । तर, आयकर ऐनको प्रावधानअनुसार थप ह्रासकट्टीको दाबीसहित नाफा–नोक्सान गणना गर्दा ५ अर्ब २६ करोड नोक्सानी हुने श्वेतपत्रमा उल्लेख छ । त्यस्तै विद्युत चुहावट श्वेतपत्र अनुसार १४.८५ प्रतिशत छ, घिसिङले करिब १३ प्रतिशतमा झरेको दाबी गर्दै आएका थिए । श्वेतपत्रमा विद्युतीकरण दर ९१.४१ प्रतिशत रहेको तथ्यांक घिसिङले भने करिब ९८ प्रतिशत विद्युतीकरण भएको बताउँदै आएका थिए ।

अर्को महत्वपूर्ण तथ्यांक प्राधिकरण आर्थिक रुपमा टाट पल्टिएको र भुक्तानी दिन नसक्ने अवस्थामा नरहेकाले १० अर्ब ऋण दिनुपर्ने भन्ने तथ्यमा प्राधिकरणले चालू आर्थिक वर्षको फागुन मसान्तसम्म भएका ठेक्कापट्टामा ११ अर्ब ६१ करोड रूपियाँ भुक्तानी दिन बाँकी रहेको र प्राधिकरणको केन्द्रीय कोषमा करिब १० अर्ब १० करोड मौज्दात रहेको र त्यसमध्ये डलर र मुद्दती खातामा ३ अर्ब ६८ करोड, धरौटी खातामा ३ अर्ब ९५ करोड तथा अन्य चालू खातामा २ अर्ब ४७ करोड रूपियाँ रहेको श्वेतपत्रमा उल्लेख छ । श्वेतपत्रमा डेडिकेटेड फिडर र ट्रंकलाइनका बक्यौतासहित प्राधिकरणले कुल ४४ अर्ब रुपियाँ बक्यौता उठाउन बाँकी रहेको भन्ने उल्लेख छ ।

त्यस्तै सरकारले कोभिडको समयमा महशुलमा दिएको छुट, चिस्यान केन्द्रलाई दिएको छुटमा सरकारले प्राधिकरणलाई १४ अर्ब १० करोड रूपियाँ शोधभर्ना दिन बाँकी रहेको श्वेतपत्रमा उल्लेख छ । साथै सरकारलाई भुक्तानी गर्नुपर्ने ऋणको ब्याज साढे २९ अर्ब रूपैयाँ र टनकपुर विद्युतबापत ३ अर्ब गरी कुल साढे ३२ अर्ब रूपियाँ दायित्व बाँकी रहेको उल्लेख छ ।

गत आर्थिक वर्षसम्म प्राधिकरणको कुल सम्पत्ति ६ खर्ब ४४ अर्ब रुपियाँ रहेकोे, स्थिर सम्पत्ति २ खर्ब ३५ अर्ब र निर्माणाधीन आयोजना २ खर्ब २० अर्ब रुपियाँ बराबर रहेको श्वेतपत्रमा उल्लेख छ । त्यस्र्तै सरकारको ७७ अर्ब ८ करोड रूपियाँ र सरकारको जमानतमा वैदेशिक दातृ निकायतर्फ १ खर्ब ७१ अर्ब ४ करोड रूपियाँ गरी २ खर्ब ४८ अर्ब १२ करोड रूपियाँ प्राधिकरणको दीर्घकालीन ऋण छ । यो कुल सम्पत्तिको ३९ प्रतिशत हो । साथै, प्राधिकरणको कुल दायित्व करिब ३ खर्ब ८५ अर्ब छ । प्राधिकरणविरूद्धका विचाराधीन मुद्दाको सम्भावित दायित्व ८ अर्ब ४० करोड रूपियाँ तथा सहायक तथा सम्बद्ध कम्पनीहरूको प्रवद्र्धन लागि प्राधिकरणले कुल ४१ अर्ब १३ करोड बराबर संस्थागत जमानत प्रदान गरेको छ । प्राधिकरणमा सरकारको सेयर लगानी २ खर्ब ६ अर्ब ७४ करोड छ। सञ्चित नाफा र अन्य जगेडातर्फ ५ अर्ब ८९ करोड गरी जम्मा इक्विटी (लगानी) २ खर्ब ५९ अर्ब १० करोड रुपियाँ रहेको श्वेतपत्रमा उल्लेख छ ।