म्यानमारमा भूकम्पपीडितको उपचारमा खट्दै डा. गोविन्द केसी (तस्वीरसहित)

8.18k
Shares

काठमाडौं ।

नेपालको चिकित्सा शिक्षाको सुधारका अभियन्ता डा. गोविन्द केसी यतिबेला म्यानमारमा गत महिना गएको भूकम्पमा परी घाइतेहरूको उपचारमा व्यस्त हुनुहुन्छ ।

यही मार्च २८ तारिख म्यानमारमा गएको ७.७ म्याग्निच्युडको प्रलयकारी भूकम्पबाट क्षतिग्रस्त सहर माण्डलेमा घाइते व्यक्तिहरूको स्वयम्सेवकका रूपमा हाडजोर्नी विशेषज्ञ र मानवीय सहयोगकर्मीको हैसियतले डा. केसी सेवामा जुट्नुभएको छ ।

सो भूकम्पबाट मुख्यतया सागाइन र माण्डले प्रदेश र म्यानमारको राजधानी नेपितोमा ठूलो मात्रामा धनजनको क्षति भयो । म्यानमारको सैनिक सरकारले मृतकको संख्या करिब ४ हजार भएको घोषणा ग¥यो भने विभिन्न गैरसरकारी स्रोतअनुसार मृतक र पत्ता नलागेका व्यक्तिहरूको संख्या ६ हजार छ ।

म्यानमारको लोकतान्त्रिक आवाज नामक संस्थाका अनुसार घाइतेहरूको संख्या ११ हजार जति छ । तर, सामान्य र मध्यम प्रकारले घाइतेहरू जो पुनः भूकम्प जान सक्ने सम्भावना र मृत्युु हुने भयले सुरक्षित स्थानमा गएको बताइएको छ ।
सबैभन्दा क्षतिग्रस्त सहरमध्ये माण्डले म्यानमारको दोस्रो ठूलो सहर हो ।

नेपाली चिकित्सक हाडजोनी विशेषज्ञ डा. केसीले सेवा दिएको अस्पताल माण्डले अर्थोपेडिक (हाडजोर्नी) अस्पताल र माण्डले जनरल अस्पताल, माण्डले, म्यानमार रहेको छ ।

उहाँले म्यानमारमा १६ दिनसम्म अनवरत रूपमा शल्यक्रिया तथा अन्य प्रकारका उपचार सेवा प्रदान गर्नुभयो । यसका सथै उहाँले वार्ड राउन्ड तथा ओपीडी तथा जरुरी सेवा दिनुका साथै विपद्का बेला कसरी सेवा दिन सकिन्छ भन्नेबारेमा स्नातकोत्तर तथा स्नातक तहका मेडिकल विद्यार्थीहरूलाई प्रशिक्षणसमेत दिनुभयो ।

डा. केसी सन् २००८ मा पहिलोपटक म्यानमारमा गएको समुद्री आँधीबेरीले धनजनको ठूलो क्षति पु¥याएको बेला सेवाका लागि जानुभएको थियो । पहिलोपटक जस्तै यसपालि पनि नेपाली राजदूतहरूको र प्रभावशाली वर्मेली चिकित्सकहरूको अथक प्रयासका बाबजुद आधिकारिक अनुमति प्राप्तबिना नै घाइते बिरामीहरूलाई आवश्यक उपचार सेवा गर्नुपर्ने अवस्था आयो ।

त्यस्तै, दोस्रो चुनौती घाइते बिरामीसँग संवाद रहेको थियो । टिमका अन्य बर्मेली हाडजोर्नी विशेषज्ञ र मेडिकल विद्यार्थीले अनुवादकको रूपमा पनि सहयोग गरेको हुनाले उपचार सेवा सहज हुन सक्यो । विगतका सेवा अभियानहरूजस्तै यसपालिको अभियान पनि डा. केसीले आफ्नै खर्चमा सञ्चालन गर्नुभएको हो ।