स्थानीय तहसम्म आपत्कालीन गोदामघर बनाऔंः गृहमन्त्री लेखक


काठमाण्डौं। 

गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि स्थानीय तहसम्म आपत्कालीन गोदामघर स्थापना गर्नुपर्नेमा जोड दिएका छन् ।

आइतबार गृहमन्त्रीसँग विपद् सम्बाद शुभारम्भ कार्यक्रममा बोेल्दै मन्त्री लेखकले विपद्सित सबैभन्दा बढी स्थानीय तह नजिक हुने गरेको भन्दै त्यसलाई मजबुद बनाउन आवश्यक रहेको जोड दिए ।

“काठमाण्डौमा तपाई हामी बसेर नीति निर्माण गर्ने हो ।” गृहमन्त्री लेखकले भने–“ तर यसलाई लागू गर्ने भनेको स्थानीय तहले नै हो ।”

उनले हरेक स्थानीय तहमा आपत्कालीन गोदामघर स्थापना गरेर त्यस आधारभूत सामाग्रीहरु राख्नुपर्ने बताए ।

“ प्रत्येक पालिकमा गोदामघर बनाऔं, त्यो भनेको छुट्टै घर, जग्गा, गोदाम बनाउनुस भनेको होइन । प्रत्येक पालिकाका आफ्ना कार्यालय छन् नी त्यो कार्यालयको एउटा कोठालाई गोदामघर बनेर तोकिदिए हुन्छ ।” मन्त्री लेखकले भने–“ त्यसमा आधारभूत सामाग्री राखौं । ती गोदामघरलाई संघ र प्रदेश सरकारले पनि आवश्यक सहयोग गरौं । तर आधार स्थानीयलाई बनाऔं । हामी सबै त्यसमा जट्नुपर्छ ।”

उनले चार वटा प्रदेशमा आपत्कालीन गोदामघर प्रदेश सरकारलाई हस्तान्तरण गरिसकेको जानकारी दिँदै काठमाण्डौं बाहेक अन्य गोदामघर पनि केही समयभित्रै प्रदेश सरकारलाई हस्तान्तरण गरिने जानकारी दिए ।

“ प्रदेशका विमानस्थलमा स्थापना गरिएका गोदामघरबाट विपद्का बेला एउटा कम्वल झिक्न पनि काठमाण्डौंमा प्राधिकरणसित समन्वय गर्नुपर्ने स्थिती थियो ।” उनले भने–“ अहिले नीतिगत निर्णय गर्दै सबै अधिकार प्रदेश सरकारलाई दिएर गोदामघर हस्तान्तरण गरिँने काम भएको छ ।”

विपद् व्यवस्थापनको विषयमा सञ्चार जगतको ठूलो भूमिका रहने उनको भनाई थियो । “ विपद्काको विषय सम्बोधन हुनुका लागि पूर्वसूचना समयमा हुनुप¥यो ।” उनले भने–“ विपद्का बेला गरिने प्रतिकार्य, राहत, पुर्ननिर्माण र पुर्नस्थापन महत्वपूर्ण विषय हुन ।”

उनले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि सङ्गठित भएर हुनुपर्नेमा जोड दिए ।

“तपाईहरुले सिकेका ज्ञान, सिप अनुभवले यो क्षेत्रलाई व्यवस्थित गर्न, नागरिकलाई यो जोखिमबाट जोगाउने काम गर्न सक्छौं ।” लेखकले भन्नुभयो–“ त्यसका लागि सङ्गठित रुपले अगाडी बढ्न सके परिणाम दिनेछ । जोखिम न्यूनीकरण गर्न काम गर्न सकिन्छ ।”