पोखरा ।
पोखरा–१६ बाटुलेचौरमा रहेको मातृशिशु मितेरी अस्पतालको रकममा एमाले नेताको रजगज भएको खुलासा भएको छ ।
महायज्ञबाट उठेको रकममा एमालेका नेता कृष्णबहादुर थापा र उहाँकी श्रीमतीको संलग्नता भएको भेटिएको हो । उनीहरूले महायज्ञबाट उठेको रकमले अस्पताल निर्माण गरेको र सो निर्माणको क्रममा बचत भएको रकम व्यक्तिगत खातामै राखेको फेला परेको हो ।
२०७३ असोज १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीले अस्पतालको उद्घाटन गर्ने जानकारी गराउँदै १२ करोडको भवन, ४ करोडका उपकरण नेपाल सरकारलाई हस्तान्तरण गरिएको बताउनुभएको थियो । अस्पताल तत्कालीन स्वास्थ्यमन्त्री खगराज अधिकारीको कार्यकाल अर्थात् २०७२ साल असोज २२ गते नेपाल सरकारको मन्त्रीस्तरीय निर्णयअनुसार २५ शय्याको रूपमा स्तरोन्नति गरी नेपाल सरकार स्वास्थ्य मन्त्रालयअन्तर्गत ल्याइएको थियो । तर, महायज्ञमा के कति रकम उठ्यो र केकेमा खर्च भयो भन्ने यकिन विवरण भने थिएन ।
२०६६ साल फागुन ३ देखि १० गतेसम्म श्रीमद् भागवत विराट ज्ञान महायज्ञ गरिएको थियो । अस्पतालको मूल भवनको अगाडि मार्बलमा पनि ७ सय ५५ चन्दादाताको नामावली लेखेर टाँसिएको छ । केही खर्च कटाएर डेढ करोड रुपियाँ बचेको थियो । तर, महायज्ञ भएको यति लामो समयसम्म पनि उक्त रकम भने अस्पतालमा आएको छैन । अझ महायज्ञको तत्कालै अडिट पनि भएको थिएन । एकैचोटि २०७७ मा अडिट भएको अस्पताल विकास समिति स्रोतले बतायो ।
स्रोतका अनुसार महायज्ञमा उठेको रकम मातृशिशु मितेरी अस्पताल सहयोग समूह गठन गरेर बैंकमा राखिएको छ । ‘अहिलेसम्म ब्याजसहित पौने २ करोड जति रकम होला’, स्रोतले भन्यो– ‘उक्त पैसा अस्पतालको खातामा आएको छैन । केही पैसा खर्च पनि भएको होला तर अस्पतालको आवश्यकतामा नभई केही व्यक्तिको इच्छा र चाहनामा खर्च भएको छ ।’ अस्पताल सरकारलाई हस्तान्तरण भएसँगै अस्पतालको सबै चलअचल सम्पत्ति र जनशक्ति पनि हस्तान्तरण हुनुपर्नेमा महायज्ञमा उठेको रकम भने हस्तान्तरण भएको छैन ।
उषा बरुवाल अध्यक्ष भएको बेला २०७८ साल असार २१ गते अस्पताल विकास समितिको बैठकले फेरि अर्को नागरिक सहयोग समिति गठन गर्ने निर्णय गरेको थियो । गठित समितिको अध्यक्ष डा.वर्षा कुँवर संयोजक, अस्पतालको इमरजेन्सी इन्चार्ज सदस्य, डिक्की छिरिङ थापा, सविना खड्का र महिला स्वास्थ्य स्वयंसेविका सुशीला थापा सदस्य तोकिएको थियो ।
साथै, समितिको संयोजक डा. वर्षा कुँवर, सदस्य डिक्की छिरिङ थापा र सविना खड्काको संयुक्त दस्तखतबाट सञ्चालन हुने गरी प्रभु बैंक पोखरामा खाता खोल्ने र तीन जनाको हस्ताक्षर चल्ने उक्त बैंक खातामा सोही प्रभु बैंकमा रहेको खाता नम्बर ०१३०१२७२१६५०००११ मा सञ्चित कोषमा भएको रकममध्ये १० लाख रुपियाँ माथि खोलिने (नागरिक सहयोग समिति) बैंक खातामा ट्रान्सफर्मर गर्ने निर्णयसमेत उक्त दिन गरिएको थियो ।
उक्त १० लाख रुपियाँ पनि महायज्ञमै उठेको रकम हो । खातामा हस्ताक्षर चल्ने भनिएकी डिक्की छिरिङ थापा अस्पतालका संस्थापक अध्यक्ष कृष्ण थापाकी श्रीमती हुनुहुन्छ । कृष्ण थापा एमाले कास्कीका नेता, पोखरा उपमहानगरपालिकाका पूर्वमेयर र पूर्वप्रदेश सांसद हुनुहुन्छ ।











प्रतिक्रिया