मिसन ८४ मा लाग्न ओलीको निर्देशन

एमालेको युवाकेन्द्रित रणनीति


काठमाडौं ।

प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीेले आफ्ना कार्यकर्ताहरूलाई सरकारको बारेमा चिन्ता गर्न छाडेर मिसन ८४ मा लाग्न निर्देशन दिनुभएको छ ।

‘जनताले जितेको दिन’ भन्दै नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले बिहीबार भृकुटीमण्डपमा आयोजना गरेको ‘युथ सेलिब्रेसन’ कार्यक्रमलाई सम्बोधन गर्दै एमालेका अध्यक्ष ओलीले यस्तो निर्देशन दिनुभएको हो । कार्यक्रममा उहाँले सरकारको बारेमा नभई चुनावको बारेमा चिन्ता गर्नुपर्नेमा जोड दिँदै भन्नुभयो– ‘एमालेले सरकार बनाउँ, सरकार बचाउँ भनेर कराएको छैन । एमालेले जहिले पनि चुनाव हेरेको हुन्छ, हामीले २०७० सालको चुनाव भन्यौं, ७४ सालको चुनाव भन्यौं, ७९ सालको चुनाव भन्यौं, अब २०८४ को चुनाव भनिरहेका छौं । त्यसैले ढुक्कले मिसन ८४ मा लाग्नुस् ।’

एक लाख युवालाई भेला पार्ने लक्ष्यसहित आयोजना गरिएको कार्यक्रममा देशभरिबाट हजारौं युवाले सहभागिता जनाएका थिए । कार्यक्रममा नेताहरूको जोशिला भाषण, युवाहरूको संकल्प र सांगीतिक प्रस्तुतिले माहोललाई अझै उत्साहपूर्ण बनाएको थियो । कार्यक्रममा प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीे युवाहरूलाई सम्बोधन गर्दै भन्नुभयो– ‘देश बदल्न चाहने हो भने, युवा नै परिवर्तनका नायक हुन् । तपाईंहरूका सपना पूरा गर्न हामी निरन्तर लागिरहेका छौं ।’ अध्यक्ष ओलीले यो दिनलाई जनताको विश्वासको प्रमाणको रूपमा वर्णन गर्नुभयो ।

कार्यक्रममा एमालेका महासचिव शंकर पोखरेलेले राष्ट्र निर्माणको भविष्य युवाको काँधमा रहेको बताउनुभभयो । उहाँले विदेश गएका युवालाई पनि काम सिकेर देश निर्माण गर्न स्वदेश नै फर्कन आह्वान गर्दै भन्नुभयो – ‘तपाईँहरू निराशामा होइन, आशाको बाटोमा अग्रसर हुनुपर्दछ ।’

देशमा राजनीतिक अस्थिरता हुँदा राष्ट्र निर्माणले गति लिन नसकेको बताउँदै उहाँले देशलाई अब राजनीतिक स्थायित्वको दिशामा अघि बढाउन बलियो राष्ट्रिय शक्ति बनाउन आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा उहाँले आगामी बजेट र सरकारको नीति तथा कार्यक्रम युवामैत्री हुने जानकारी दिँदै वर्तमान प्रधानमन्त्रीको युवा प्रतिको अगाध स्नेह रहेको दाबी गर्नुभयो ।

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले युवालाई सशक्त राजनीतिक भूमिकामा उभिन प्रेरित गर्दै भन्नुभयो– ‘हामी युवाले अब आफ्ना कुरा अरूलाई सुनाउने होइन, आफैँ बोल्ने हो । राजनीतिमा युवाको सक्रिय उपस्थिति अपरिहार्य छ ।’ उहाँले आफू पनि युवाको प्रतिनिधि भएर राजनीतिमा आउँदा झेलेका संघर्षहरूको प्रसंग सुनाउँदै युवालाई अघि सर्न आग्रह गर्नुभयो ।

एमालेका युवाहरू समस्याबाट भाग्ने युवा नभएको जिकिर गर्दै उहाँले भन्नुभयो– ‘एमालेले युवालाई दश नंग्र्रा खियाउन सिकाउँछ । त्यस कारण म एमालेमा छु । स्टन्ट गरेर देश बन्दैन, अरूलाई गाली गरेर देश बन्दैन, देश बनाउने हो भने योजनाअनुरूप काम गर्नुपर्छ, योजना बनाउनु पर्छ ।’

कार्यक्रममा सहभागी बनेका मकवानपुरका युवराज श्रेष्ठले राजनीतिबाट नै परिवर्तन सम्भव भएको र एमालेजस्तो पार्टीले युवालाई ठाउँ दिँदै आएको बताउनुभयो । काठमाडौंकी सुस्मिता खनालले सांगीतिक कार्यक्रमसहित राजनीतिक चेतनाको यस्तो संयोजन युवाको लागि निकै सशक्त सन्देश भएको धारणा व्यक्त गर्नुभयो ।