काठमाडौँ।
औषधि व्यवस्था विभागले पेट सम्बन्धी समस्या निको पार्ने दुई औषधि बजारबाट तुरुन्त फिर्ता गर्न निर्देशन जारी गरेको छ ।
‘पिलपान ४० एमजी’ र ‘एसीटप ४० एमजी’ नामक दुवै औषधिहरू परीक्षणका क्रममा गुणस्तरहीन पाइएको हो । उक्त ब्याच नं भएका औषधिहरूको सिफारिस, बिक्री वितरण तथा प्रयोग नगर्न र नगराउन सबैलाई विभागले अनुरोध गरेको छ ।
विभागले बजार अनुगमनका क्रममा सङ्कलन गरिएको औषधिहरूको नमुना राष्ट्रिय औषधि प्रयोगशालाबाट परीक्षण गर्दा उत्पादकबाट उत्पादित उक्त ब्याच नंका औषधिहरू न्यून गुणस्तर पाइएको जारी सूचनामा उल्लेख छ ।
औषधि ऐन, २०३५ को दफा १४ बमोजिम बिक्री वितरण रोक्का गरी उक्त ब्याचका औषधिहरू बजारबाट तुरुन्त फिर्ता गर्न र सोको विवरण विभागमा पेस गर्न सम्बन्धित उद्योग तथा तिनका प्रतिनिधिहरूलाई सूचनामार्फत निर्देशन दिइएको छ ।
यस्ता निर्देशन पटक पटक जारी गर्दा पनि विगतमा औषधिहरु फिर्ता नहुने गरेको औषधि व्यवस्था विभागका उच्च अधिकारीहरु बताउँछन् ।











प्रतिक्रिया