बुटवल।
नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकारमा विचौलियाहरु हावी भएको कारण गर्भनर नियुक्ती हुन ढिला भएको जिकिर गरेका छन् । उनले गभर्नर नियुक्तिमा कांग्रेस र एमालेबीच नभई बिचौलियाबीच तानातान चलिरहेको आरोप लगाए।
प्रेस सेन्टर नेपाल, रुपन्देही शाखाले बिहीबार भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले विचौलियहरु “बेडरुम” सम्मै पहुँच बनाएको आरोप लगाए ।
पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले राजावादी भनिएका दुर्गा प्रसाईँको गिरफ्तारीपछि फेरि राजावादीको ज्वरो नआउने जिकिर गरे ।
प्रचण्डले अहिलेको सरकार संविधान विपरीत, अपारदर्शी र षडयन्त्र पूर्वक बनेको आरोप लगाए । दिनको उज्यालोमा सरकार बनाउने घोषणा गर्न नसकेको कारण सरकारको जन्म नै अपारदर्शी भएको उनको जिकिर थियो । बिचौलियाको इशारामा बनेको सरकार भएको कारण जनताले यो सरकारबाट धेरै अपेक्षा नराखेको उनको भनाई थियो ।
सरकारको काम कार्यवाही प्रति नेपाली कांग्रेस र नेकपा एमाले भित्र नै आक्रोश रहेको बताउँदै उनले दुबै पार्टीमा भुसको आगो झै असन्तुष्टि सल्किरहेको दाबी पनि गरे ।
नेकपा माओवादी (केन्द्र) अहिले हुलाकी मार्ग वरिपरि केन्द्रित रही अभियान सञ्चालन गरिरहेको छ । सोही क्रममा प्रचण्ड सहितका केन्द्रीय नेताहरु अहिले रुपन्देही आइपुगेका हुन् । यो अभियानको क्रममा लाखौँ कार्यकर्ता जोडिएको र राष्ट्रिय एकतालाई सुदृढीकरण गर्न बलियो प्रदान गरेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भनाई छ । रुपन्देही आएका प्रचण्ड बिहान भैरहवा मर्निङ्गवाक ग्रुपसँगै मर्निङ्गवाकमा निस्किएका थिए । रुपन्देहीमा प्रचण्डको युवा विद्यार्थी र वाईसिएललाई प्रशिक्षण, स्थानीय व्यापारी, बुद्धिजीवीसँग अन्र्तरक्रिया कार्यक्रमसंगै मर्चवारमा बृहत् आमसभालाई सम्बोधन गर्नु भएको अभियानका रुपन्देही संयोजक नारायण जिसी (निर्मल) ले जानकारी दिए ।











प्रतिक्रिया