मागको सुनुवाई नभए कडा संघर्षमा उत्रने चेतावनी
काठमाडौं ।
काठमाडौं महानगरका मेयर बालेन साहका स्वकीय सचिव भूपदेव साह र कामु प्रहरी प्रमुख राजुनाथ पाण्डेमाथि हदैसम्मको कारबाही गर्न महानगरका स्थानीय कर्मचारी संगठनहरूले माग गरेका छन् ।
ती संगठनहरूले हिजो बिहीबार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई ११ बुँदे ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन् । ती संगठनहरूले आफ्नो मागको सुनुवाई नभए कडा संघर्षमा उत्रने चेतावनी पनि दिएका छन् । कर्मचारी संगठनहरूले महानगरीय प्रहरीबल र कामु प्रहरी प्रमुख पाण्डेको अगुवाइमा भएको कार्यालयको मर्यादा विपरीत अनुशासनहीन, गैरकानुनी र अनपेक्षित घटनाको बारेमा सत्यतथ्य पत्ता लगाई दोषीलाई हदैसम्मको कारबाही गर्न ३ दिनभित्र अधिकार सम्पन्न छानबिन समिति बनाउन माग गरेका छन् ।
साथै पाण्डेलाई महानगरीय प्रहरी बल ऐनअनुसार निलम्बनमा राखी छानबिनलाई सहज बनाउन पनि माग गरेका छन् ।
गत चैत २१ गते महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको पुनर्वहालीपछि साहले कर्मचारीलाई सार्वजनिक रूपमै धम्क्याउने काम गरेको भन्दै ५ कर्मचारी संगठनले कारबाहीको माग गरेका हुन् ।
स्वकीयसचिव साहसँगै कामु प्रहरी प्रमुख पाण्डेले आन्दोलनमा उत्रने सबै कर्मचारीलाई कारबाही गर्नेसम्मको धम्की दिएका थिए । मेयरका स्वकीयसचिव शाह र कामु प्रहरी प्रमुख पाण्डेले अति गर्न थालेपछि कर्मचारी संघ संगठनले ती दुईलाई तत्काल कारबाही गर्न प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई ज्ञापनपत्र बुझाएका हुन् ।
प्रमुखको स्वकीयसचिवको नाममा सचिवालयका कर्मचारीले आचरणविपरीत अनधिकृत ढंगले सार्वजनिक सञ्चार माध्यममार्फत कामपा उपप्रमुख, वडाध्यक्षलगायतका सम्मानित व्यक्तिहरू समेतलाई लाञ्छित गर्ने प्रयास गरेको आरोप लगाउँदै ज्ञापनपत्रमा कानुनबमोजिम हदैसम्मको कारबाही गर्न माग गरिएको छ । ज्ञापनपत्रमा विभिन्न सञ्चारमाध्यम युट्युब एवं अन्य सामाजिक सञ्जालबाट उच्छृङ्खल, अवान्छित एवं उत्तेजित शब्द प्रयोग गरी समस्यालाई थप पेचिलो बनाएको आरोप पनि लगाइएको छ ।
प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई महानगर प्रहरी प्रमुख पाण्डेको नेतृत्वमा कार्यालय छिर्न अवरोध गरिएको थियो । पाण्डेले प्रप्रअ गुरागाईं चढ्ने सवारी साधनको ह्विल लक गर्नुका साथै स्वकीयसचिव साहको निर्देशनमा प्रप्रअको कार्यकक्षमा ताला लगाउनुभएको थियो । चैत २१ गते उपमेयर, वडाध्यक्ष र कर्मचारीले कार्यालयको ढोका फोडेर प्रप्रअ गुरागाईंलाई कार्यालयमा प्रवेश गराएका थिए । त्यसपछि स्वकीयसचिव साहले त्यसै विषयलाई लिएर कर्मचारीहरूलाई धम्क्याएको दाबी विज्ञप्तिमा गरिएको छ ।
कारबाहीको माग गर्ने कर्मचारी संगठनहरूमा स्थानीय तह कर्मचारी युनियन नेपाल, स्थानीय तह कर्मचारी संघ नेपाल, महानगर कर्मचारी परिषद्, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र नेपाल वातावरण तथा सरसफाइ श्रमिक संघ रहेका छन् ।
ज्ञापनपत्रमा फरक प्रसंगको बैठकमा वडाअध्यक्षहरूबाट व्यक्त विचारको भिडियो क्लिप काटी अनर्थ लाग्ने गरी मिडियामा सार्वजनिक गरेको घटनाको सत्यतथ्य सार्वजनिक गर्नुपर्ने र सीसीटिभीका फुटेजहरू कस्को जिम्मामा रहने हो स्पष्ट पार्नुपर्ने, ९ दिनअघि भएको घटनामा सहभागी भएका भनिएका कर्मचारी संगठनका पदाधिकारीलाई धम्की दिने काम बन्द गर्नुपर्ने, काठमाडौं टावर नक्सा पाससम्बन्धी पछिल्लो घटना र सोको सम्बन्धमा छानबिन गर्न गठित समिति, र सोको क्रियाकलाप एवं, कर्मचारीले बनाएको कथित राय प्रतिवेदन समेतको समग्र गतिविधिको छानबिन गर्न एक निष्पक्ष छानबिन समिति गठन गर्नुपर्ने माग राखेका छन् ।
स्थानीय तह कर्मचारी युनियन नेपालका अध्यक्ष नरबहादुर साउद, स्थानीय तह कर्मचारी संघ नेपालका महासचिव सम्भु बराल, महानगर कर्मचारी परिषद्का अध्यक्ष उत्तम घले, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष मचाबाबु मालाकार र नेपाल वातावरण तथा सफाई श्रमिक संघका अध्यक्ष रमिला पुजारीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा वातावरण व्यवस्थापन विभाग र सहरी विकास विभागमा अनधिकृत व्यक्तिको अवैध उपस्थिति रहेकोले तत्काल हटाउनुपर्ने, कार्यालयमा कार्यरत कर्मचारीलाई अनधिकृत व्यक्तिले धम्क्याउने, मौखिक आदेश दिने, नमान्ने कर्मचारी सरुवा गर्नेसम्मको धम्की दिने प्रवृत्ति अन्त्य गरी प्रप्रअलाई कानुनसम्मत काम गर्ने वातावरण बनाउनुपर्ने माग राखेका छन् । त्यस्तै तत्काल कर्मचारी सरुवा मापदण्ड बनाउनुपर्नेलगायतका माग राखिएको छ । मेयर साहले सचिवालयको नाममा विभागैपिच्छे एकजना हेरालु राखेको पनि कर्मचारी संगठनको आरोप छ ।
त्रासमा मेयर बालेन्द्र, ९ दिनपछि सुटक्क कार्यालय आए, सीसीटिभी जडान गर्न लगाएर हिँडे
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह नौ दिनदेखि कार्यालयमा अनुपस्थित रहनुभएको थियो । नौ दिनपछि बिहीबार कार्यालय आई उहाँले सीसीटिभी हटाएको विषयमा प्रश्न उठाउनुभएको थियो । उहाँले सीसीटिभी पुनः जडान गर्न निर्देशन दिनुभएलगत्तै महानगरको सूचना शाखाका कर्मचारीले बुधबार निकालिएको ४ वटा सीसीटिभी जडान गरेका थिए ।
मेयर साहले आफ्नो कार्यकक्ष र क्याबिन, सचिवालयलका सदस्यको कोठाभित्र जडान नगरी प्रमुख प्रशासकीय अधिकृत र विभागीय प्रमुखको कोठामा मात्र सीसीटिभी राख्न लगाउनुभएको थियो । उच्चस्रोतका अनुसार मेयर साहले प्रमुख प्रशासकीय अधिकृत नभएको मौका छोपेर सीसीटिभी जडान गर्न लगाउनुभएको थियो । कार्यालयभित्र प्रवेश गर्नासाथ साहले स्वकीयसचिव भुपदेव साहमार्फत सीसीटिभी जोड्न लगाउनुभएको स्रोतले बतायो ।
कर्मचारीले मेयर साहको स्वकीयसचिव साह र कामुप्रहरी प्रमुख राजुनाथ पाण्डेलाई हदैसम्मको कारबाही गर्न माग गर्दै प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागार्इंलाई ज्ञापनपत्र बुझाएको केही समयपछि कार्यालय आएका मेयर साहले बुधबार हटाइएको सीसीटिभी २४ घण्टा बित्न नपाउँदै जोड्न लगाउनुभएको हो ।
शान्ति सुरक्षाको लागि प्यासेज, पार्किङ, भ¥याङमालगायतका स्थानमा मात्र सीसीटिभी राख्ने व्यवस्था छ र तर मेयर साहले प्रमुख प्रशासकीय अधिकृत, प्रशासन विभागलगायत अनावश्यक स्थानमा पनि जोड्न लगाउनुभएको थियो । कामपाका प्रवक्ता नवीन मानन्धरले मेयर साहले आफ्नो क्याबिनमा नराखेर विभागीय प्रमुखलाई दुःख दिन सीसीटिभी राख्न लगाएको आरोप लगाउँदै भन्नुभयो– ‘उहाँ चाही क्याबिनभित्र बसेर मनपरी गर्न हुने, अनि विभागीय प्रमुखको कोठामा सीसीटिभी राखेर नियन्त्रण गर्न खोज्नु गलत मनसाय हो । उहाँले सो विषयमा भोलि छलफल गरी निर्णय गरिने जानकारी दिँदै भन्नुभयो– ‘बुधबार हटाइएको थियो । बिहीबार पुन राखेको सुनेको छु । मेयर साहले कार्यालय प्रवेश गर्नासाथ मनपरी निर्णय गरे सबै कार्यपालिकाका सदस्यले सोहीअनुसार प्रक्रिया थाल्ने छ ।’
कामपाका कर्मचारीले मेयर साहको लागि मात्रै बनाइएको लिफ्टसमेत हटाउनुपर्ने बताएका छन् । यसअघिका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार बिदा हुन लागेको बेला उहाँकै निर्देशनमा प्रमुख प्रशासकीय अधिकृतको गोप्य कार्यकक्षमा सीसीटिभी जडान भएको थियो ।
मेयर साहले आफैंले ती सीसीटिभीमा भएका गतिविधि अनुगमन गर्नुहुन्न तर मेयरका स्वकीय सचिव भुपदेव साह, सुनिल लम्साल, सुदीप ढकाल, शैलेन्द्र झालगायतका टिमले अनुगमन गरी विभागीय प्रमुखलाई थर्काउने गरेका थिए । ६ महिनाअघि २२ वटा सीसीटिभी जडान गरी सबै विभागीय प्रमुखको कार्यकक्षमा भएको गतिविधि निगरानी गर्ने गरेको छ ।
स्रोतका अनुसार बोलेको समेत रेकर्ड राख्ने व्यवस्था गर्न लागिएको थियो, विरोध भएपछि बोलेको बाहेक अन्य रेकर्ड राख्ने व्यवस्था भएको थियो । सो सीसीटिभीको रेकर्ड ३० दिनसम्म रहनेछ । सीसीटिभीमा देखिएको दृष्यको आधारमा सचिवालयबाट सोध्ने कामसमेत भएको स्रोतको भनाइ छ । मेयर साह र उनको सचिवालयले कर्मचारीलाई निगरानी गर्न सीसीटिभी राखेको बताएका छन् ।
सीसीटिभी जडान तथा सञ्चालन कार्यविधि २०७२ अनुसार सीसीटिभी जडान र अनुगमन गर्ने व्यवस्था छ । तर सो व्यवस्थाको विपरीत कर्मचारीलाई गालीगलौज गर्न सीसीटिभीको प्रयोग भइरहेको स्रोतको भनाइ छ ।














प्रतिक्रिया