मखमली स्वरकी धनी गायिका तथा संगीतकार मिरा राणाले गीत गायनमा ६० वर्षको सेलिब्रेसन मनाएकी छन्।
रेडियो नेपालको स्थापना दिवसको दिन २०२२ साल चैत्र २० गते पहिलोपटक रेडियो नेपालमा गीत गाएर १३ वर्षको उमेरमा गायनको औपचारिक शुरूवात गरेकी मिराले यस अवसरमा रेडियो नेपालमा एक कार्यक्रमको आयोजना गर्दै केक काटेर खुशीयाली साटिन्। मिराले आफू पहिलोपटक रेडियो नेपालमा स्थापना दिवसको अवसरमा आप्mनो सांगीतिक गुरु एवम् पिता स्व. शम्भुप्रसाद मिश्रको साथमा गायिका तारादेवीलाई भेट्ने उद्देश्यले रेडियो नेपाल गएको स्मरण गरिन्। ‘म त्यति बेला १३ वर्षकी थिएँ। बुबा रेडियो नेपालमा तबलावादक हुनुहुन्थ्यो।
मैले तारादेवीलाई भेट्छु भनेपछि गीत गाउन सिकेर मात्र उहाँलाई भेट्न मिल्छ भनेपछि तबलामार्फत संगीत बनाएर गीत सिकाउनुभयो र केही दिनको मिहिनेतपछि लिएर जानुभयो। त्यहाँ पुगेर तारा नानी मेरी छोरी मिरा भनेर चिनाउनु भयो मैले निकै श्रद्धाले शिर झुकाएर नमस्कार गरँ’ मिराले सम्झिन् ‘तर म सानी केटीले गरेको नमस्कार नै फर्काउनु भएन। मलाई त्यति बेलै म पनि एक दिन तिमी जस्तै गायिका बन्छु भन्ने भयो। मैले पनि रेडियो नेपालमा गीत प्रस्तुत गरँ, त्यहाँ धेरैले बुबालाई छोरीले राम्रो गाइन् भन्नुभयो। गीत गाउने बेलामा मैले गाएको तारादेवीले चाहिँ मन पराउनु पर्छ उहाँलाई मन पर्लँ कि नपर्ला भन्ने ध्यान भइरह्यो। पछि तारादेवीले पनि बुबासँग छोरीले त राम्रो गाउँदिरैछिन् भन्नुभएछ। सायद उहाँले त्यो बेला नमस्कार फर्काउनु भएको भए ममा गायिका बन्ने सोच नै आउँदैनथ्यो।’

मिराले २०२८ सालमा रेडियो नेपालमा भ्वाइस टेस्ट गरेर जागिर खाएको स्मरण गर्दै भनिन् ‘हुन त अहिले रेडियो नेपालले त्यो बेलामा पैसा दिएन भनेर धेरैले गाली गर्छन्। रेडियो नेपाल मेरो लागि मन्दिर हो, यो त्यसरी गाली गरेको सुन्दा निकै चित्त दुख्छ। मैले पैसाको लागि गीत गाएको पनि थिइन।
मैले जागिर खानुभन्दा अघि धेरै जनासँग गीत गाए एउटा गीत गाएको ३५ रुपियाँ आउने रहेछ। एक दिन अकाउन्टबाट बोलाउनु भयो, मेरो पैसा ७ सय रुपियाँ भएको रहेछ जुन मलाई थाहा नै थिएन। भोलीपल्ट मेरो गीत रेर्र्किर्डङ थियो, तर मिरा राणाले ७ सय रुपियाँ पायो, अब उसलाई गाउन नदिने भन्ने भित्रभित्रै सल्लाह भएको रहेछ। त्यो दिन मेरो घरमा रेडियो नेपालमा भोली नआउनु भन्ने खबर आयो। तर मलाई गीत रेकर्ड गर्न पाउँछु भन्ने लाग्यो, श्रीमान्ले पनि जाउँ भन्नु भयो र रेडियो नेपाल गए। सोही बेलाका डाइरेक्टरसाब तीर्थ बहादुर खत्रीले जागिरको प्रस्ताव राख्नुभयो र ३ सय रुपियाँ तलबमा रेडियो नेपालमा जागिर खाएर गीत गाए । ’
रेडियो नेपालले स्थापनाको हीरक जयन्ती मनाइरहँदा मिराले गायनको ६० वर्ष मनाउन आयोजित कार्यक्रममा बोल्दै सार्वजनिक प्रसारण सेवा नेपालका अध्यक्ष डा. महेन्द्र विष्टले मिराले रेडियो नेपालका लागि गायनको माध्यमबाट पु¥याएको योगदानको चर्चा गरे। कामु प्रमुख प्रशासकीय अधिकृत विष्णुराम न्यौपानेले मिरा राणा र उनको गायकीको प्रशंसा गरे।
गायिका तारा थापाले मिरा र आफूले २०२८ सालमा सँगै रेडियो नेपालमा भ्वाइस टेस्ट गरेको र त्यस दिनदेखि सँगसँगै रहेको बताइन्। ‘त्यो बेला मिरा राणा पहिलो हुनु भएको थियो। हामीले धेरै ठाउमा सँगै गीत गाउँदै हिँड्यौँ उहाँले मलाई गीत गाउन मात्र नभई कसरी राम्री बन्ने भनेर पनि सिकाउनु हुन्थ्यो। उहाँ र मलाई संयोगवश रोग पनि एउटै लाग्यो। अहिले हामी दुवैले क्यान्सर जितेर सँगै गीत गाइरहेका छौँ।’
एरेञ्जर अमुल कार्की ढलीले मिराको साथमा आफूले धेरै काम गरेको अनुभव बाँड्दै रेडियो नेपालले पुराना गायकगायिकाको गीत संगीतलाई आगामी पुस्तासम्म पु¥याउनुपर्ने र त्यसका लागि आफूले सहयोग गर्नुपरे तयार रहेको बताए। हास्य कलाकार राजाराम पौडेलले मिरासँगका रमाइला अनुभव सेयर गरे।











प्रतिक्रिया