बिहीबारबाट राजधानीमा आठौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) चलिरहेको छ। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले महोत्सवको शुभारम्भ गर्दै विश्व फिल्मको बजारमा प्रतिस्पर्धा गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दर्शक भित्र्याउन आवश्यक रहेको बताए।
नेपालका लागि पाकिस्तानका राजदूत अव्रार हास्मीले, नेपालले प्रदान गर्ने फिल्म तथा सांस्कृतिक सभ्यता र विविधता पाकिस्तानीको लागि मात्र नभएर विश्वका सबै ब्यक्तिको लागि नेपाल आउन प्रेरणाको श्रोत बन्न सक्ने बताए।
भारतका चलचित्र विश्लेषक रिता दत्तले, भारत सरकारले भारतका फिल्मलाई सहयोग गर्ने गरेको जनाउँदै नेपाल सरकारले पनि यस्तो अन्तर्राष्ट्रिय महोत्सवलाई साथ सहयोग गर्नुुपर्नेमा जोड दिए। महोत्सव अन्तर्गत शनिबार रसियन फिल्म डेमा रसियाका तीन फिल्म प्रदर्शन गरिएको छ। यसपटक महोत्सवमा ३ अडियन्स च्वाइस अवार्ड र एआई अवार्ड थप गरिएको छ।
समारोहको पहिलो दिन मीनबहादुर भाम निर्देशित शाम्बाला प्रदर्शन गरिएको थियो। महोत्सवमा ४० देशका ८७ फिल्म देखाइनेछ। महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशिसहित गौतम बुद्ध अवार्ड प्रदान गरिनेछ।
अन्तर्राष्ट्रिय वृत्तचित्रलाई एक हजार डलर राशिको माउन्ट एभरेस्ट अवार्ड र अन्तर्राष्ट्रिय लघुफिल्मलाई ५ सय डलरको बागमती अवार्ड प्रदान गरिने जनाइएको छ। एआई फिल्मलाई ५ सय डलर राशिको मञ्जुश्री अवार्ड प्रदान गरिनेछ भने नेपाली प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई एक लाख नगद र ट्रफी, उत्कृष्ट सर्ट फिल्म र उत्कृष्ट वृत्तचित्रलाई ५०–५० हजार नगद र ट्रफी प्रदान गरिनेछ। महोत्सव सोमबारसम्म चल्नेछ।
प्रतिक्रिया