प्रेस चौतारीको केन्द्रीय  महाधिवेशन भोलिबाट, अध्यक्षमा पाण्डे र राई भिड्दै


काठमाडौं  ।

 श्रमजीवी पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको केन्द्रीय महाधिवेशन भोलिबाट विराटनगरमा सुरु हुँदैछ । तीन दिनसम्म हुने केन्द्रीय महाधिवेशनको आइतबार ११ बजेपछि प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 

अधिवेशनको लागि संगठनका पदाधिकारी तथा अधिकांश केन्द्रीय सदस्यहरू विराटनगर पुगिसकेका छन् । पार्टीका अतिथिहरू र प्रतिनिधिहरू समेत आज बेलुका र भोलि बिहानसम्म विराटनगर पुग्दैछन् ।

संगठनले पाहुना, केन्द्रीय पदाधिकारी र सदस्यलाई आजबाटै र प्रतिनिधिहरूलाई भोली र पर्सिको लागि आवासको व्यवस्था गरेको छ ।  ‘समृद्धिका लागि सञ्चार प्रेस चौतारीको आधार’ भन्ने मूल नाराका साथ हुन लागेको महाधिवेशन तीन दिनसम्म चल्ने छ ।  

 अधिवेशनले पत्रकारिता क्षेत्रका समस्या र आगामी योजनाको बारेमा महाधिवेशनले महत्त्वपूर्ण निर्णय लिने प्रेस चौतारी नेपालका केन्द्रीय महासचिव हीरामान लामाले जानकारी दिए । महाधिवेशनले प्रेस चौतारी नेपालको नयाँ नेतृत्व चयन गर्दैछ । महाधिवेशनमा झन्डै ९ सय प्रतिनिधिले सहभागिता जनाउने महासचिव लामाले जानकारी दिए । 

 महाधिवेशनको लागि सबै तयारी पूरा भएको  कार्यक्रमको तयारीमा जुटेका  संगठनका सचिव विक्रम लुइँटेलले जानकारी दिए ।  ‘अतिथि सत्कार, प्रतिनिधिहरूको आवास, कार्यक्रम स्थलको तयारी, खाना लगायतको सबै व्यवस्थापन भइसकेको छ, कार्यक्रममा सहभागी हुने प्रतिनिधिलाई १० गते बिहान देखि कै खाजा, खाना र आवासको व्यवस्था मिलाइएको छ, प्रतिनिधिलाई चैत १० र ११ गते लागि आवासको व्यवस्था मिलाएको छ’, लुइँटेलले भने ।

प्रेस चौतारी नेपालको अध्यक्ष पदका लागि दुई जनाले उम्मेदवारी घोषणा गरिसकेका छन् । जसअनुसार उपाध्यक्ष गणेश पाण्डे र राजेश राइले भावी नेतृत्वका लागि प्रतिस्पर्धाका लागि घोषणा गरिसकेका छन् । अन्य पदका लागि पनि अनौपचारिक रूपमा उम्मेदवारी घोषणा भएका छन् । उम्मेदवारी घोषणा भए पनि सर्वसम्मत नेतृत्व चयनको लागि प्रयास हुने बताइएको छ ।  संगठनका अध्यक्ष गणेश बस्नेतले महाधिवेशनमा पद खोज्ने तर पार्टी र संगठनको काममा नलाग्नेलाई नेता नबनाइने बताए ।

  ‘भरसक सहमतिको प्रयास हुन्छ, सहमति जुट्न सकेन भने स्वस्थ प्रतिस्पर्धा हुन्छ, तर चुनावमा बदमासी गर्नेहरू उम्मेदवार हुन पाउँदैनन्’, बस्नेतले भने ।