तीनदिने पाँचौं नेपाल जापान न्युरोसर्जरी सम्मेलन काठमाडौँमा सुरु


काठमाडौँ। 
तीन दिनसम्म चल्ने पाँचौं नेपाल जापान न्युरोसर्जरी ‘फङ्सनल न्युरो सर्जरी वर्कशप’ सम्मेलन विहिवार देखि काठमाडौँमा  सुरु भएको छ । 
नेपालमा सन् २००६ देखि डा वसन्त पन्त, डा रेसा श्रेष्ठ लगायतका न्युरो सर्जनको समूहले पार्किन्सन्स, शरीरको चालसम्बन्धी गडबडी, विभिन्न प्रकारका मानसिक स्वास्थ्य समस्यामा ‘फङ्सनल न्युरोसर्जरी’ को सुरुवात गरेका हुन् ।

कार्यक्रमको उद्घाटन तथा स्वागत मन्तव्य नेपालका वरिष्ठ न्युरोसर्जन डा पन्त र जापानका वरिष्ठ न्युरोसर्जन प्रोफेसर डा टाकोमी टाईराले राखेका थिए ।
तीन दिने सम्मेलनमा जापान, बेल्जियम, चीन, भारत, इन्डोनेसिया, क्यानाडा, इरान तथा नेपालका न्युरोसर्जरी क्षेत्रमा कार्यरत चिकित्सक तथा वैज्ञानिकहरूको उपस्थिति रहनेछ ।

६० भन्दा बढी वैज्ञानिक कार्यपत्रहरू प्रस्तुतिका साथै ‘ह्यान्ड्स अन वर्कशप’ हुनेछ । अहिले नेपालमा न्युरोसर्जनको सङ्ख्या १२० पुगेको छ । यो सम्मेलनले नेपाल र अन्य मुलुकसँगको न्युरो उपचारमा नयाँ नयाँ ज्ञान हासिल गर्नका लागि थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।