राज्यले हुलाकी मार्ग केन्द्रित नागरिकलाई विभेद गरेको छ: अध्यक्ष प्रचण्ड

प्रचण्डलाई रुपन्देहीमा ७१ किलोको माला 

2.54k
Shares

बुटवल। 

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दहालले हुलाकी मार्गका नागरिकहरुलाई राज्यले विभेद गरेको  गुनासो गरेका छन् ।

रुपन्देहीमा ओमसतिया गाउँपालिका वडा नम्बर ६ मा रहेको रामजानकी जमुहानी कुटीको पोखरी सुन्दरीकरण कार्यक्रमको शिलान्यास गर्दै  उनले भौतिक पूर्वाधार, शिक्षा स्वास्थ्य लगायतका क्षेत्रमा राज्यद्वारा विभेद र अपमान राज्यले गरेको खुलासा गरे।

उनले यसै विभेदका विरुद्ध नयाँ जागरण ल्याउन माओवादी केन्द्र हुलाकी मार्ग केन्द्रित अभियानमा रहेको बताए । मुलुकमा देखापरेको केही असहजताले गर्दा केही समयका लागि हुलाकी मार्ग केन्द्रित अभियान स्थगित गरिए पनि त्यो छिटैृ सुरु हुने उनले बताए । 

अभियानको क्रममा पुगेका जिल्लाहरुको एैतिहासिक तथा पुरात्वातिक स्थल मठ मन्दिर, पाटी पौवा कुवां पोखरी पर्यटकीय केन्द्रहरुको प्रवद्र्धन गर्ने पनि अभियानको उद्देश्य  रहेको बताउँदै उनले यसले पनि सम्बन्धित पर्यटकीय क्षेत्रको प्रचार प्रसारमा सहयोग पुग्ने र स्थानियलाई आर्थिक उपार्जनमा टेवा पुग्ने धारणा राखे । 

नेपाल सरकार पूर्वाधार विकास आयोजना अन्र्तगत आर्थिक वर्ष २०८१-०८२ को बजेटबाट ८८ लाख रुपैयामा जमुहानीमा रहेको रामजानकी मन्दिर तथा कुटिको पोखरी सुन्दरीकरण तथा पार्क निर्माण हुदैछ । यसले यस क्षेत्रको पर्यटकीय विकास गरी स्थानीयको आय आर्जनको पनि बाटो खोल्ने उनले बताए ।

ओमसतिया गाउँपालिका वडा नम्बर ६ मा रहेको रामजानकी कुटी बौद्ध कालीन कुटि रहेको बताउँदै यहां गरेको भाकल पुरा हुने जनविश्वास रहेको त्यहाका वडा अध्यक्ष शिव कुमार धवलले बताए । उनले तालको गुरुयोजना निर्माण गरी त्यसै अनुरुप काम गरिरहेको जनाउदै यसको सुन्दरीकरण लगायत पार्क निर्माणको काम सुरु भएको बताए । 

शिलान्यास कार्यक्रममा प्रचण्डलाई रुपन्देहीको ओमसतियामा ७१ किलोको फूलको माला लगाइएको छ । 

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डलाई उनको उमेरअनुसार रामजानकी जमुहानी पोखरा ताल व्यवस्थापन समितिले ७१ किलोको माला लगाइदिएको रामजानकी जमुहानी पोखरा ताल व्यवस्थापन समितिका अध्यक्ष  धवलले बताए ।