लमजुङ।
गुरुङ समुदायको भाषा, संस्कृति, परम्परा र जीवनशैलीलाई पर्दामा उतार्ने उद्देश्यसहित निर्माण भइरहेको चलचित्र ‘मलय क्रमु’ को छायांकन लमजुङमा जारी छ । बेसीशहरमा १२ दिनसम्म छायांकन सम्पन्न गरेको निर्माण टोली अहिले घनपोखराको प्राकृतिक सुन्दरता र सांस्कृतिक परिवेशलाई समेट्दै चलचित्रका दृश्य खिच्न व्यस्त छ ।
असोज ८ गते लमजुङ सदरमुकाम बेसीशहरबाट छायांकन सुरु गरिएको चलचित्रको दृश्य जिल्लाका विभिन्न स्थानमा खिचिँदै छ । बेसीशहरमा निर्धारित छायांकन पूरा गरेपछि निर्माण टोली घनपोखरा पुगेको हो । घनपोखराको प्राकृतिक सौन्दर्य, स्थानीय परिवेश र गुरुङ समुदायको सांस्कृतिक पहिचानलाई चलचित्रमा समेट्ने प्रयास गरिएको छ । लमजुङमा छायांकन सकेपछि मनाङमा समेत चलचित्रका दृश्य खिच्ने योजना रहेको छ ।

पिटर गुरुङको लेखन तथा निर्देशन र खेमेन्द्र गुरुङको निर्माणमा तयार भइरहेको ‘मलय क्रमु’ ले गुरुङ समुदायको मौलिक कथा, सामाजिक परिवेश, भाषा, संस्कृति र परम्परालाई चलचित्रमार्फत प्रस्तुत गर्ने लक्ष्य राखेको छ । स्थानीय भूगोल र सांस्कृतिक पहिचानलाई कथासँग जोडेर प्रस्तुत गरिने भएकाले चलचित्रमा लमजुङका प्राकृतिक तथा सांस्कृतिक दृश्यले महत्त्वपूर्ण स्थान पाउनेछन् ।
चलचित्रमा धनकुमारी गुरुङ (काशी), मनोज गुरुङ, मनिका गुरुङ, मञ्जु गुरुङ, गजेन्द्र गुरुङ, रेशम गुरुङ, प्रतीक जङ तामाङ, समीर गुरुङ र आयुष गुरुङलगायतका कलाकारको अभिनय रहेको छ ।
गुरुङ समुदायको मौलिक पहिचान र सांस्कृतिक सम्पदालाई चलचित्रमार्फत दर्शकमाझ पु¥याउने प्रयासका रुपमा ‘मलय क्रमु’ लाई हेरिएको छ । लमजुङ र मनाङका प्राकृतिक तथा सांस्कृतिक परिवेशले चलचित्रलाई थप जीवन्त बनाउने अपेक्षा गरिएको छ ।











प्रतिक्रिया