स्याङ्जाका ११ स्थानीय तहमा कांग्रेसको अधिवेशन सम्पन्न

वालिङमा ३ मतले गुरुङ विजयी

0
Shares

स्याङ्जा

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्याङ्जाका ११ वटै स्थानीय तहमा नगर तथा गाउँ अधिवेशन सम्पन्न भएको छ । कांग्रेस स्याङ्जाका अनुसार कालीगण्डकी गाउँपालिकामा बिहीबार तथा अन्य १० स्थानीय तहमा बुधबार अधिवेशन सम्पन्न भएको हो । अधिवेशनबाट केही स्थानीय तहमा सर्वसम्मत र केहीमा निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गरिएको छ । जिल्लाको मध्यभागमा रहेको वालिङ नगरपालिकामा भने नेतृत्व चयनका लागि रोचक प्रतिस्पर्धात्मक निर्वाचन सम्पन्न भएको छ । सहमतिमार्फत सभापति चयन गर्ने प्रयास भए पनि पदमराज गुरुङ र बोधराज कुँवर (राजु) बीच सहमति जुट्न नसकेपछि निर्वाचन गरिएको कांग्रेस वालिङ नगरसमितिका तत्कालिन सभापति नेत्र पाण्डेले जानकारी दिनुभयो ।

वालिङमा ३ मतले गुरुङ विजयी

वालिङ नगर सभापतिमा पदमराज गुरुङ २ सय ६९ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी बोधराज कुँवर (राजु) ले २ सय ६६ मत प्राप्त गरे । गुरुङ ३ मतको झिनो अन्तरले विजयी भएका हुन् । नगर उपसभापतिमा यज्ञप्रसाद अधिकारी २ सय ७७ मतसहित निर्वाचित भए । महिला उपसभापतिमा जुनु थापा ३ सय १५ मत प्राप्त गरी निर्वाचित भइन् । उनका प्रतिस्पर्धी जगदीश पाठकले २ सय ३० र सीता ढुंगााना अधिकारीले २ सय १४ मत प्राप्त गरेको निर्वाचन अधिकृत प्रकाश अर्यालले जानाकारी दिनुभयो । सचिवमा हुमनाथ अर्याल (वचन) २ सय ५४ मतसहित निर्वाचित भए । उनका प्रतिस्पर्धी बुद्धिसागर गैह्रेले २ सय ५३ मत प्राप्त गरे । सहसचिवमा एकनारायण कोइराला (उत्तम) २ सय ५७ मतसहित विजयी भए भने विष्णुबहादुर खवासले २ सय ३४ मत प्राप्त गरे । वालिङमा ५ सय ५९ मतदाता रहेकोमा ५ सय ४२ मत खसेको थियो ।

भीरकोटमा खनाल विजयी

भीरकोट नगरपालिकाको नगर सभापतिमा नन्दलाल खनाल निर्वाचित भएका छन् । खनालले १ सय ९४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी ताराप्रसाद अर्यालले १ सय ६७ मत प्राप्त गरे । खनाल २७ मतको अन्तरले विजयी भएका हुन् । उपसभापतिमा मनबहादुर गुरुङ, महिला उपसभापतिमा पार्वती बस्नेत, सचिवमा हरिप्रसाद अर्याल र सहसचिवमा सूर्य अधिकारी चयन भएका छन् । भीरकोटमा ३ सय ८५ मत खसेको थियो । यहाँ कुल खसेको मतमध्ये २४ मत बदर भएको निर्वाचन अधिकृत रामेश्वर रेग्मीले बताउनुभयो ।

पुतलीबजारमा अधिकारी पुनः निर्वाचित

पुतलीबजार नगर सभापतिमा सुरजकुमार अधिकारी २ सय ५९ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी लेखनाथ शर्माले १ सय ९१ मत प्राप्त गरे । अधिकारी ६८ मतको अन्तरले पुनः निर्वाचित भएका हुन् । सचिवमा ख्यामकान्त अर्याल २ सय ४५ मतसहित निर्वाचित भए । उनका प्रतिस्पर्धी रामप्रसाद लम्सालले १ सय ९१ मत प्राप्त गरे । सहसचिवमा पूर्णबहादुर गुरुङ दोर्जे २ सय ९७ मतसहित विजयी भए भने उनका प्रतिस्पर्धी गौतमसिंह ठकुरीले १ सय ४४ मत पाए । पुतलीबजारमा ४ सय ९६ मतदाता रहेकोमा ४ सय ५७ मत खसेको थियो ।

चापाकोटमा सारु पुनः सभापति

चापाकोट नगरपालिकाको नगर सभापतिमा विक्रम सारु पुनः निर्वाचित भएका छन् । सारुले २ सय ४२ मत प्राप्त गर्दा विश्वास पुरीले ९८ र रामबहादुर श्रेष्ठले ५८ मत प्राप्त गरे । सचिवमा विश्वप्रकाश भट्टराई २ सय २३ मतसहित विजयी भए । उनका प्रतिस्पर्धी दयाराम भण्डारीले ९१ र हरि डोटेलले ७१ मत प्राप्त गरे । चापाकोटमा ४ सय ४ मत खसेको थियो ।

अर्जुनचौपारीमा काफ्ले निर्वाचित

अर्जुनचौपारी गाउँपालिकाको सभापतिमा हरि काफ्ले निर्वाचित भएका छन् । काफ्लेले ९९ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी शालिकराम काफ्लेले ५६ मत प्राप्त गरे । कुल १ सय ५८ जनाले मतदान गरेकोमा ३ मत बदर भएको थियो ।

कालीगण्डकीमा भट्टराई विजयी

यसैगरी नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कालीगण्डकी गाउँपालिकाको गाउँ अधिवेशनबाट सभापतिमा नारायणप्रसाद भट्टराई निर्वाचित भएका छन् । भट्टराईले १ सय १७ मत प्राप्त गरी सभापतिमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी चक्रपाणी पाण्डेले १ सय १ मत प्राप्त गरे । भट्टराई १६ मतको अन्तरले विजयी भएका हुन् । कालीगण्डकी गाउँपालिकामा कुल २ सय ४३ मतदाता रहेकोमा २ सय २५ मत खसेको थियो । खसेका मतमध्ये ७ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । अब भट्टराईको नेतृत्वमा गाउँपालिकास्तरीय कांग्रेस संगठनले आगामी महाधिवेशनका प्रक्रिया अघि बढाउनेछ ।

५ वटा पालिकामा सर्वसम्मत

गल्याङ नगरपालिकाको नगर सभापतिमा श्यामप्रसाद बस्याल सर्वसम्मत चयन भएका छन् । यो उनको दोस्रो कार्यकाल हो । त्यस्तै, आँधीखोला गाउँपालिकाको सभापतिमा युवा नेता अनिल ढकाल सर्वसम्मत चयन भएका छन् । उपसभापतिमा नुवादत्त ढकाल, सचिवमा कलाधर पौडेल र सहसचिवमा नीलकण्ठ उपाध्याय (असिम) चयन भएका छन् । हरिनास गाउँपालिकाको सभापतिमा बालकृष्ण सिग्देल सर्वसम्मत चयन भएका छन् । उपसभापतिमा बागधन राना र मुरली लम्साल, सचिवमा कृष्णप्रसाद लम्साल तथा सहसचिवमा विनय अधिकारी चयन भएका छन् । फेदीखोला गाउँपालिकाको सभापतिमा महेन्द्र थापा पुनः चयन भएका छन् । बिरुवा गाउँपालिकाको सभापतिमा लालबहादुर हमाल सर्वसम्मत निर्वाचित भएका छन् ।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहमा नेतृत्व चयन भएसँगै स्याङ्जामा महाधिवेशनको आगामी चरणका लागि संगठनात्मक गतिविधि थप सक्रिय हुने देखिएको छ । स्थानीय तहका अधिवेशनमा कतिपय ठाउँमा सहमति र कतिपय ठाउँमा प्रतिस्पर्धाबाट नेतृत्व चयन हुनुले जिल्लाभित्र पार्टी संगठनमा रहेको विविधता र स्थानीय तहको राजनीतिक समीकरणलाई समेत प्रतिबिम्बित गरेको छ ।