लन्डन
पुराना पुस्ताका मानिस मात्र पुराना सामान, प्राचीन वस्तु र फ्ली मार्केटमा आकर्षित हुन्छन् भन्ने धारणा पछिल्लो समय बदलिन थालेको छ। नयाँ अध्ययनले १८ देखि २९ वर्ष उमेर समूहका युवाहरू नै अहिले पुराना तथा प्रयोग भइसकेका सामानको बजारलाई तीव्र रूपमा अघि बढाइरहेको देखाएको छ।
अध्ययनका अनुसार सर्वेक्षणमा सहभागी १८ देखि २९ वर्ष उमेरका करिब ८० प्रतिशत युवाले पुरानो अर्थात् भिन्टेज शैली मन पराउने बताएका छन्। ६३ प्रतिशतभन्दा बढीले नयाँ सामानको तुलनामा पहिले प्रयोग भइसकेका फर्निचर, पुरानो शैलीका घर सजावटका सामग्री र क्लासिक पहिरन रोज्न थालेका छन्। युवाहरूमा यस्तो रुचि बढ्नुको प्रमुख कारण सामाजिक सञ्जाल देखिएको छ। सर्वेक्षणमा सहभागी ८३ प्रतिशत युवाले सामाजिक सञ्जालबाट प्रभावित भएर पुराना वा प्रयोग गरिएका सामान किनेको बताएका छन्। टिकटक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालमा पुराना सामान खोज्ने, त्यसको मूल्य र इतिहास बताउने तथा घर सजाउने भिडियो लोकप्रिय भएपछि युवाहरूमा पनि यस्तो किनमेलप्रति आकर्षण बढेको देखिन्छ।
तर सामाजिक सञ्जाल मात्र यसको कारण होइन। ७५ प्रतिशत युवाले पुराना सामान आधुनिक रूपमा ठूलो संख्यामा उत्पादन गरिएका सामानभन्दा बढी विशेष र आफ्नै पहिचान बोकेका हुने बताएका छन्। उनीहरूका लागि पुराना फर्निचर, चित्र, सजावटका सामग्री वा कपडामा छुट्टै इतिहास र व्यक्तित्व हुनु आकर्षणको मुख्य कारण बनेको छ।
वातावरणीय कारणले पनि यो प्रवृत्तिलाई बल दिएको छ। करिब ४० प्रतिशत युवाले पुराना सामान किन्नुलाई फोहोर कम गर्ने र वातावरणमैत्री जीवनशैली अपनाउने एउटा आकर्षक उपायका रूपमा हेरेका छन्। नयाँ सामान उत्पादन गर्नुभन्दा पहिले नै प्रयोगमा आइसकेका वस्तुलाई पुनः प्रयोग गर्नु दिगोपनाका दृष्टिले राम्रो विकल्प भएको उनीहरूको धारणा छ।
युवाहरूको पुराना सामानप्रतिको रुचिमा परिवारको प्रभाव पनि देखिएको छ। केही युवाले आफ्ना हजुरबा–हजुरआमाबाट पुराना सामान र परम्परागत शैलीप्रति रुचि विकास भएको बताएका छन्। अध्ययनमा २२ प्रतिशत जेन जेड सहभागीले आफ्नो रुचिमा हजुरबा–हजुरआमाको प्रभाव रहेको बताएका छन्।
पुराना सामान खोज्ने बानी पनि नियमित बन्दै गएको छ। अध्ययनअनुसार करिब ३२ प्रतिशत युवा हरेक साता पुराना वा प्रयोग गरिएका सामान खोज्न जाने गर्छन्। उनीहरूले घर सजावटका सामग्री, चित्र, प्रिन्ट तथा साना संग्रहयोग्य वस्तुहरू बढी खरिद गर्ने गरेका छन्।युवाहरूका लागि प्राचीन तथा पुराना सामान खोज्ने प्रमुख स्थानमा विशेष प्राचीन वस्तु पसल, फ्ली मार्केट र कार–बुट बिक्री केन्द्र तथा प्रत्यक्ष लिलामी पर्छन्। अध्ययनमा ३८ प्रतिशतले विशेष प्राचीन वस्तु पसल, २५ प्रतिशतले फ्ली मार्केट वा कार–बुट बिक्री केन्द्र र १० प्रतिशतले प्रत्यक्ष लिलामीलाई रोजेको देखिएको छ।
यस्तो सामानका लागि युवा पुस्ताले खर्च गर्न पनि तयार देखिएको छ। अध्ययनअनुसार जेन जेडका एक खरिदकर्ताले प्राचीन फर्निचर वा संग्रहयोग्य वस्तुका लागि औसतमा करिब २४४ पाउन्ड खर्च गर्न तयार हुन्छन्। करिब ४० प्रतिशतले पुराना सामान किन्ने कामलाई भविष्यमा मूल्य बढ्न सक्ने लगानीका रूपमा समेत हेरेका छन्।
पछिल्ला वर्षहरूमा पुराना सामानको बजारमा युवाको सहभागिता बढेको अन्य अध्ययनहरूले पनि देखाएका छन्। लिलामी तथा प्राचीन वस्तुको कारोबार गर्ने बेलायतको चिफिन्सका अनुसार पछिल्ला तीनदेखि चार वर्षमा त्यसका लिलामीमा मिलेनियल र जेन जेड खरिदकर्ताको संख्या करिब ४० प्रतिशतले बढेको छ। यसरी हेर्दा पुराना सामान अब केवल पुरानो पुस्ताको रुचिको विषय रहेन। सामाजिक सञ्जाल, मौलिक डिजाइनको खोजी, वातावरणीय चेतना र फरक पहिचान बनाउने चाहनाका कारण युवाहरूले पुराना वस्तुलाई नयाँ शैलीमा अपनाउन थालेका छन्। विज्ञहरूका अनुसार यही परिवर्तनले प्राचीन तथा पुनःप्रयोग हुने सामानको बजारमा नयाँ पुस्ताको प्रवेशलाई तीव्र बनाइरहेको छ।
more











प्रतिक्रिया