इरानी युद्धक जहाजप्रति ट्रम्पको कडा चेतावनी- ‘नाकाबन्दी क्षेत्रमा आए ध्वस्त पारिने’


वासिङ्टन।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी ‘नौसैनिक नाकाबन्दी’ उल्लंघन गर्ने कुनै पनि इरानी युद्धक जहाजलाई नष्ट गरिने चेतावनी दिएका छन्।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’ मार्फत सन्देश जारी गर्दै नाकाबन्दी गरिएको क्षेत्रमा इरानी जहाज प्रवेश गरे तुरुन्तै सैन्य कारबाही गरिने बताएका हुन्।

उनले यसअघि क्यारेवियन क्षेत्रमा लागुऔषध तस्करीविरुद्ध गरिएको सैन्य कारबाहीलाई उदाहरण दिँदै अमेरिकी सेनाले त्यही प्रकारको रणनीति प्रयोग गर्न सक्ने संकेत गरेका छन्।

यसबीच, इरानले हर्मुज जलडमरूमध्यमा शत्रु राष्ट्रका जहाजहरूको आवागमनमा कडाइ गरेको जनाइएको छ। इरानले आफ्ना सहयोगी राष्ट्रहरूका जहाजलाई मात्र आवतजावतको अनुमति दिइरहेको बताइएको छ।

तनाव चुलिँदै जाँदा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा समेत प्रभाव परेको छ। सोमबार मात्रै तेलको मूल्य करिब ८ प्रतिशतले वृद्धि भएको जनाइएको छ।

यस विषयमा विभिन्न देशहरूले फरक–फरक प्रतिक्रिया दिएका छन्। चीनले अमेरिकी कदमको विरोध गरेको छ भने स्पेनले यसलाई अनावश्यक विवादको संज्ञा दिएको छ।

त्यस्तै, बेलायत र फ्रान्स ले अमेरिकी नाकाबन्दीमा प्रत्यक्ष संलग्न नहुने जनाउँदै क्षेत्रीय सुरक्षाका लागि बहुराष्ट्रिय पहलको विकल्पमा छलफल अघि बढाउने संकेत गरेका छन्।