काठमाडौँ
महालक्ष्मी विकास बैंकले नेपाली नयाँ वर्ष २०८३ लाई लक्षित गर्दै विभिन्न आकर्षक योजनाहरू सार्वजनिक गरेको छ । अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ सुविधा प्रदान गर्दै आएको बैंकले यस वर्षलाई डिजिटल प्रवद्र्धन वर्षका रूपमा मनाउने योजना अघि सारेको छ । यसअन्तर्गत “महालक्ष्मी स्मार्ट साथी” मोबाइल एपमार्फत सक्रिय मोबाइल बैंकिङ प्रयोगकर्ताले वैशाखको पहिलो हप्तामा कम्तीमा एक सफल कारोबार गरेमा गोलाप्रथाबाट ३ जना भाग्यशालीले आकर्षक भ्रमण प्याकेज जित्नेछन् । विजेताले पोखरा, चितवन र मनकामना जस्ता आन्तरिक पर्यटकीय गन्तव्यमा जोडीसहित भ्रमण गर्ने अवसर पाउनेछन् ।
बैंकले डिजिटल बैंकिङलाई थप प्रोत्साहन गर्न मोबाइल बैंकिङ प्रयोगकर्तालाई विभिन्न डिजिटल कारोबारबापत रिवार्ड पोइन्ट प्रदान गर्ने व्यवस्था पनि गरेको छ । उक्त पोइन्ट “फोन पे रिवाड्र्स” एपमा जम्मा हुनेछन्, जसलाई ग्राहकहरूले निश्चित सर्तअनुसार विभिन्न सामान खरिद तथा अन्य सेवामा प्रयोग गर्न सक्नेछन्। यो एप प्ले स्टोर र एप्स स्टोरमार्फत डाउनलोड गर्न सकिन्छ ।
यसै अवसरमा बैंकले सुलभ ब्याजदरमा “महालक्ष्मी घर कर्जा” योजना पनि ल्याएको छ । यसअन्तर्गत घर वा जग्गा खरिद, घर निर्माण, अपार्टमेन्ट खरिद तथा घर मर्मतसम्भारका लागि न्यूनतम २ वर्षदेखि अधिकतम ३० वर्ष अवधिसम्म कर्जा उपलब्ध हुनेछ, जसमा ७ वर्षसम्म ब्याजदर स्थिर रहनेछ। “सबल बैंक, सफल सहकार्य” नारासहित सेवा दिँदै आएको बैंकका देशभर १०३ शाखा र करिब ८ लाख ५० हजारभन्दा बढी ग्राहक रहेका छन् ।











प्रतिक्रिया