अर्थतन्त्रको बाह्य क्षेत्र सुदृढ, आन्तरिक भने कमजोर


काठमाडौं।

वर्ष २०८२ ले नेपालको अर्थतन्त्रले एउटा विरोधाभासपूर्ण चित्र प्रस्तुत गरेको छ । यस वर्ष बाह्य क्षेत्र उल्लेखनीय रूपमा सुदृढ, तर आन्तरिक आर्थिक गतिशीलता कमजोर देखिएको छ । विप्रेषण, विदेशी मुद्रा सञ्चिति र कम मुद्रास्फीति जस्ता सूचकहरूले स्थायित्वको संकेत दिएका छन् भने आर्थिक वृद्धिदर, लगानी र उत्पादन क्षेत्रमा देखिएको सुस्तताले संरचनागत कमजोरीलाई उजागर गरेको छ ।

एसियाली विकास बैंक र विश्व बैंकका प्रक्षेपणहरू नै यसको प्रारम्भिक संकेत हुन् । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि २.३ देखि २.७ प्रतिशतको सीमित दायरामा रहने अनुमान गरिएको छ, जुन अघिल्लो वर्षको करिब ४.६ प्रतिशत वृद्धिदरको तुलनामा उल्लेख्य गिरावट हो । यसले अर्थतन्त्र पुनरुत्थानको चरणमा रहे पनि अपेक्षित गति समात्न नसकेको स्पष्ट देखाउँछ ।

यस सुस्तताको जरोमा आन्तरिक र बाह्य दुवै कारण देखिएका छन् । केही महिनाअघि देखिएको राजनीतिक अस्थिरता, आन्दोलन र नीतिगत अनिश्चितताले निजी क्षेत्रको आत्मविश्वास कमजोर बनाएको छ । निजी लगानीको मनोविज्ञान नाजुक हुँदा बैंकिङ प्रणालीमा पर्याप्त तरलता हुँदाहुँदै पनि कर्जा विस्तार केवल ४–५ प्रतिशतको हाराहारीमा सीमित रहनु यही वास्तविकताको प्रतिफल हो । अर्कोतर्फ, मध्यपूर्वमा जारी द्वन्द्व र वैश्विक अनिश्चितताले विप्रेषणमा निर्भर अर्थतन्त्रलाई जोखिममा राखेको छ, यद्यपि हालसम्म विप्रेषण आप्रवाह ३७ प्रतिशतभन्दा बढीले बढ्नुले तत्काल संकट टरेको देखाउँछ ।

कृषि क्षेत्र, जुन अर्थतन्त्रको मेरुदण्ड मानिन्छ, यस वर्ष मौसमीय असन्तुलनका कारण प्रभावित भयो । ढिलो मनसुन, बाढी र केही क्षेत्रमा खडेरीले धान उत्पादन घटायो, जसले समग्र वृद्धि दरमा प्रत्यक्ष असर पारेको छ । औद्योगिक क्षेत्रमा पनि अपेक्षित सुधार देखिएन । निर्माण क्षेत्र सुस्त रह्यो, ठूला परियोजनाहरू ढिला भए, र ऋण पुनर्संरचनाको माग बढ्दै गयो । यसले अर्थतन्त्रभित्र ‘लो इन्भेष्टमेन्ट, लो ग्रोथ’ को चक्र गहिरिँदै गएको संकेत गर्छ । यद्यपि, समग्र अर्थतन्त्रको तस्वीर पूर्णतः नकारात्मक भने छैन । उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति फागुनसम्म ३.६२ प्रतिशतमा सीमित रहनु उल्लेखनीय उपलब्धि हो । यो दर अघिल्लो वर्षको तुलनामा कम हो र यसले उपभोक्ताको क्रयशक्ति जोगाउन मद्दत गरेको छ । अझ महत्वपूर्ण कुरा, विदेशी मुद्रा सञ्चिति ३४ खर्बभन्दा माथि पुगेर १८.५ महिनाको आयात धान्न सक्ने अवस्थामा हुनु अर्थतन्त्रको बाह्य स्थायित्वको बलियो आधार हो । चालु खाता र शोधनान्तर दुवैमा उच्च बचत देखिनु पनि सकारात्मक संकेत हो । तर, यिनै सकारात्मक सूचकहरू अर्थतन्त्रको गहिरो संरचनागत समस्यालाई ढाक्न पर्याप्त भने छैनन् ।

नेपालको सन्दर्भमा विप्रेषणमा अत्यधिक निर्भरता, आयातमुखी संरचना र कमजोर निर्यात क्षमता दीर्घकालीन जोखिमका रूपमा उभिएका छन् । निर्यात २० प्रतिशतले बढे पनि आयातको आकार अत्यधिक ठूलो हुँदा व्यापार घाटा अझै चर्को छ । यसले उत्पादनशील क्षेत्र विस्तारमा नेपालको कमजोरीलाई पुनः पुष्टि गर्छ । त्यस्तै वित्तीय क्षेत्र पनि दोधारमा रहेको देखिन्छ । निक्षेप १५ प्रतिशतभन्दा बढीले बढ्दा पनि कर्जा विस्तार सुस्त हुनु, अन्तर बैंक कर्जा दर न्यून रहनु र ब्याजदर घट्दै जानु अर्थतन्त्रमा लगानीको माग कमजोर रहेको संकेत हो । यस्तो अवस्थामा मौद्रिक नीतिले मात्र अर्थतन्त्रलाई गति दिन सक्दैन; संरचनागत सुधार अपरिहार्य हुन्छ । सरकारले अघि सारेको सुधार एजेन्डा । विशेषतः निजी क्षेत्रमैत्री नीति, स्वीकृति प्रक्रियाको सरलीकरण र पूर्वाधार विकास नै सही दिशामा कदम हुन सक्छ । जलविद्युत् क्षेत्रमा थपिएको क्षमता र ऊर्जा निर्यातको सम्भावनाले दीर्घकालीन आशा जगाएको छ । यदि यी पहलहरू प्रभावकारी रूपमा कार्यान्वयन भए भने आगामी वर्षहरूमा आर्थिक वृद्धिदर ४–५ प्रतिशतसम्म उक्लिन सक्ने आधार देखिन्छ ।

वर्ष २०८२ नेपालको अर्थतन्त्रका लागि संक्रमणकालीन वर्ष रह्यो । बाह्य स्थायित्वले अर्थतन्त्रलाई ‘बफर’ दिएको छ, तर आन्तरिक सुधारको अभावले यसको सम्भावना सीमित बनाएको छ । अबको चुनौती स्पष्ट छ, नीति घोषणा होइन, कार्यान्वयन महत्वपूर्ण हो । पुँजीगत खर्चको प्रभावकारिता, निजी लगानीको पुनःउत्थान, कृषि उत्पादकत्व वृद्धि र निर्यात प्रवद्र्धनमा ठोस प्रगति बिना वर्तमान सुस्तता दीर्घकालीन समस्यामा रूपान्तरण हुन सक्छ । यदि समयमै सही कदम चालियो भने यो सुस्तता अस्थायी हुन सक्छ; अन्यथा, नेपाल न्यून वृद्धि र उच्च निर्भरता भएको अर्थतन्त्रको दुष्चक्रमा फस्ने जोखिम अझ गहिरिनेछ ।