निसाको १७औं साधारण सभा सम्पन्न, ऋषि कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन


काठमाडौँ
नेपाल बीमा सर्भेयर संघ (निसा) को १७औं वार्षिक साधारण सभा २०८२ चैत २८ गते भव्य रूपमा सम्पन्न भएको छ ।

सभाले आगामी दुई वर्षका लागि इन्जिनियर ऋषि कोइरालाको अध्यक्षतामा १०औं नयाँ कार्यकारी समिति निर्विरोध निर्वाचित गरेको छ। कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले बीमा क्षेत्रको समग्र विकासमा सर्भेयरहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउँदै उनीहरूको योगदानको प्रशंसा गर्नुभयो ।

विशेष अतिथिका रूपमा नेपाल बीमक संघका अध्यक्ष तथा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बहादुर बैदवारले नयाँ कार्यसमितिलाई बधाई दिँदै सर्भेयर प्रतिवेदनमा एकरूपता ल्याउन र क्षेत्रलाई व्यवस्थित बनाउन निसाको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो ।
वरिष्ठ सर्भेयर सूर्यप्रसाद जोशी र शिवचन शाखले पनि नयाँ टोलीलाई शुभकामना दिँदै क्षेत्रका विकृति र बेथिति अन्त्य गर्न सफल हुने विश्वास व्यक्त गर्नुभयो । निवर्तमान अध्यक्ष मोहन पुरुष ढकालले आफ्नो कार्यकालका उपलब्धिहरू प्रस्तुत गर्नुभएको थियो ।

नयाँ कार्यसमितिमा अध्यक्ष इन्जिनियर ऋषि कोइराला, उपाध्यक्ष चार्टर्ड एकाउन्टेन्ट भानु कँडेल, महासचिव इन्जिनियर नवीन भट्ट, सचिव इन्जिनियर लोचन केन्द्र देवकोटा र कोषाध्यक्ष इन्जिनियर खेमराज भट्ट चयन हुनुभएको छ। कार्यकारी सदस्यहरूमा इन्जिनियर राजेश घिमिरे, इन्जिनियर सुवास तिवारी, इन्जिनियर अनुप शर्मा र इन्जिनियर सुशान्त लिम्बू रहेका छन्। दुई वर्षे कार्यकाल रहेको यस समितिले सर्भेयरहरूको हकहित र व्यावसायिक दक्षता अभिवृद्धिका लागि काम गर्ने प्रतिबद्धता जनाएको छ।