बुढीगण्डकी आयोजना छिट्टै सुरु हुन्छ, निजी क्षेत्र–सरकार सहकार्यमा जोड : सभामुख 

1.13k
Shares

धादिङ ।

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले राष्ट्रिय गौरवको बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको निर्माण कार्य केही महिनाभित्रै सुरु हुने बताएका छन् ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङद्वारा आइतबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सभामुख अर्यालले लामो समयदेखि चर्चामा रहेको उक्त आयोजना अब व्यवहारिक कार्यान्वयनको चरणमा प्रवेश गर्न लागेको स्पष्ट पारे । उनले शिलान्यासमा मात्रै सीमित नभई निर्माणसँग सम्बन्धित सबै गतिविधि एकैसाथ अघि बढ्ने बताउँदै आवश्यक तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।

“अब धेरै समय कुर्नु पर्दैन, आयोजना छिट्टै निर्माण प्रक्रियामा जान्छ,” सभामुख अर्यालले भने ।

धादिङ र गोरखा जिल्लाको साझा चासोको विषयका रूपमा रहेको बुढीगण्डकी आयोजना आफू विभिन्न जिम्मेवारीमा रहँदा पनि उच्च प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै उनले यसको सफल कार्यान्वयनका लागि निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सभामुख अर्यालले देशको दिगो विकासका लागि निजी क्षेत्र र सरकारबीचको सहकार्य अपरिहार्य रहेको औँल्याउँदै विकास निर्माणका काममा सुशासन र पारदर्शिता सुनिश्चित गरिने बताए । शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका क्षेत्रमा सुधार ल्याउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

उनले धादिङ जिल्लालाई विशेष प्राथमिकतामा राखेर योजनाबद्ध विकास अघि बढाइने पनि उल्लेख गरे। गृह जिल्ला भ्रमणका क्रममा सभामुख अर्यालले स्थानीय जनप्रतिनिधि, व्यवसायी तथा सरोकारवालासँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

यसै अवसरमा सभामुख अर्यालले आफू निष्पक्ष, इमानदार र जिम्मेवार भूमिकामा रही जनताको हितमा नीति निर्माणमा लाग्ने प्रतिबद्धता दोहोर्‍याए । संविधान कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण र संशोधनलाई तीव्रता दिने उनको भनाइ थियो ।

“जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी ‘फास्ट ट्र्याक’ बाट कानुन निर्माण प्रक्रिया अघि बढाइनेछ,” उनले भने, “विकास, समृद्धि र खुसीको अनुभूति ढिला नगरी दिलाउनुपर्छ भन्ने मेरो मान्यता हो ।”

सभामुख अर्यालले राज्यका सबै संयन्त्रले नागरिकलाई सरकार भएको अनुभूति दिलाउनुपर्नेमा जोड दिँदै आफ्नो कार्यकाललाई परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरे ।