एजेन्सी।
यही मार्च २ तारिखमा हिजबुल्लाहले इजरायलतर्फ रकेट प्रहार गरेदेखि लेबनानमा इजरायली आक्रमणमा परी मृत्यु हुनेको कूल संख्या १ हजार ९ सय ५३ पुगेको छ ।
लेबनानको स्वास्थ्य मन्त्रालयले आक्रमणमा परी ६ हजार ३ सय ३ जना घाइते भएकाे जनाएको हो । मन्त्रालयका अनुसार गत बुधवार मात्रै लेबनानमा भएको इजरायली आक्रमणमा ३ सय ५७ जनाको मृत्यु भएको छ भने १ हजार २ सय २३ जना घाइते भएका हुन् । जनस्वास्थ्य मन्त्रालयको आपत्कालीन सञ्चालन केन्द्रले एक विज्ञप्ति जारी गर्दै उद्धार टोलीले भग्नावशेष हटाउने र मानव अवशेषहरू संकलन गर्ने कार्य जारी राखेकाले यो तथ्याङ्क प्रारम्भिक रहेको बताएको छ।
ठूलो संख्यामा पहिचान नभएका शरीरका अंगहरूको डीएनए परीक्षण गरी पीडितको पहिचान पुष्टि गर्न समय लाग्ने भएकाले अन्तिम संख्या निर्धारण गर्न केही समय लाग्ने पनि बताईएको छ । स्थानीय सञ्चारमाध्यम र घटनास्थलका फुटेजहरूका अनुसार इजरायलले बिहीबार दक्षिण लेबनानका विभिन्न स्थानमा थप भारी हवाई आक्रमण गरेको छ । जसमा जरारिया, जिबचित, बुर्ज कालाउयेह र घान्दौरियामा सबै भन्दा घातक आक्रमणहरू रिपोर्ट गरिएको छ ।
दक्षिण लेबनानमा विनाशको मात्रा बढ्दै जाँदा, आपत्कालीन उद्धारकर्ताहरू विभिन्न क्षेत्रहरूमा खोजी र उद्धार कार्यमा संलग्न रहेका हुन् । जवाफमा हिजबुल्लाहले किर्यत शमोना र मेतुला लगायतका इजरायली सेनाको जमघट र उत्तरी बस्तीहरूलाई लक्षित गरी रकेट आक्रमण गरेको बताएको हो । समूहले लेबनान विरुद्धको इजरायली–अमेरिकी आक्रमण नरोकिउन्जेल आफ्ना कारबाहीहरू जारी रहने थप गरेको छ । पछिल्लो हवाई आक्रमण व्यापक तनावकोबीचमा आएको छ । जसले लेबनानमा बढ्दो नागरिक हताहती र बिग्रँदै गएको मानवीय अवस्थाप्रति चिन्ता बढाएको हो ।











प्रतिक्रिया