निहानाले जितिन् अन्तर्राष्ट्रिय चेसमा रजत


काठमाडौं ।

निहाना श्रेष्ठले काजकिस्तानमा भएको अन्तर्राष्ट्रिय चेस प्रतियोगितामा रजत पदक जितेकी छन् ।

फिडे वल्र्ड स्कुल टिम चेस च्याम्पियनसिपअन्तर्गत एसियन कन्टिनेन्टल चरणमा निहानाले व्यक्तिगत चौथो बोर्ड समूहमा ७ खेलबाट ५.५ अंक जोड्दै रजत पदक जितेकी हुन् । प्रतियोगितामा उनले अष्ट्रेलिया, भारत, हङकङ, उज्बेकिस्तान र सिंगापुरका खेलाडीलाई पराजित गरिन् । चीनसँग बराबरी खेल्दा पाकिस्तानसँग एक मात्र हार व्यहोरेकी थिइन् ।

नेपालबाट मार्भलस इङ्ग्लिस बोर्डिङ स्कुलका खेलाडी ब्रिजनन्दन दास, कृष्टि रिजाल, आकाश शरण कुँवर, निहाना श्रेष्ठ र सुहानी सिंहले प्रतिस्पर्धा गरेका थिए । टोलीका व्यवस्थापक नेपाल चेस महासंघका सदस्य निरञ्जन प्रजापति र टोलीकल प्रशिक्षकमा रिजेन्द्र राजभण्डारी थिए।

नेपाल बुद्धिचाल महासंघको अनुसार एसिया, अफ्रिका, अमेरिका र युरोप गरी चार महादेशीय छनोट चरणपछि प्रत्येक क्षेत्रका विजेता टोलीले दिसेम्बरमा हुने ग्रान्ड फाइनल खेल्नेछ । एसियाबाट भने उज्बेकिस्तानको विज्डम स्कुल शीर्ष स्थानमा रहँदै ग्रान्ड फाइनलका लागि छनोट भइसकेको छ ।