भूबराह पूजाकै दिनदेखि रोकिएको सुरुङमार्ग

1.32k
Shares

हेटौंडा । ‘देशको मुहार फेर्ने’ परिकल्पना गरिएको भीमफेदी–कुलेखानी सुरुङमार्ग परियोजनामा भएको ‘गम्भीर अनियमितता’ सम्बन्धमा विभिन्न प्रश्न उठाउँदै सरकारको ध्यानाकर्षण गराइएको छ ।

‘सेवा, सहयोग र आवाजमा हामी’ मकवानपुरले भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास मन्त्रालयसमक्ष ध्यानाकर्षण गराएको हो । भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माण गर्ने उद्देश्यले नेपाल पूर्वाधार विकास कम्पनी स्थापना गरी सार्वजनिक–निजी साझेदारी मोडलमा अगाडि बढाइएको परियोजनामा देखिएको गम्भीर लापरबाही, आर्थिक अपारदर्शिता तथा सम्भावित ठगीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

उक्त कम्पनीले काठमाडौंदेखि हेटौंडासम्म छोटो समयमा आवतजावत सम्भव हुने, आर्थिक समृद्धि ल्याउने तथा लगानीकर्तालाई आकर्षक प्रतिफल दिने भनी देश तथा विदेशमा रहेका नेपाली नागरिकसमक्ष ठूलो सपना बाँडी सर्वसाधारणबाट ३१ करोड बढी संकलन गरेको थियो । स्थानीयले गाई, बाख्रा बेचेर, ऋण काढेर र यहाँसम्म कि जग्गा बेचेरसमेत लगानी गरेका उदाहरण प्रशस्त रहेको दाबी गरिएको छ ।

‘तर दशकौं समय बितिसक्दा पनि न सुरुङमार्ग निर्माणको कुनै ठोस प्रगति देखिएको छ, न त संकलित रकमको पारदर्शी विवरण सार्वजनिक गरिएको छ । उल्टै कम्पनी सम्पर्कविहीनजस्तै भई लगानीकर्तालाई अन्यौलमा पारिएको अवस्था छ । यसले आमनागरिकको राज्य र निजी क्षेत्रप्रतिको विश्वास गम्भीररुपमा कमजोर बनाएको छ’, सेवा, सहयोग र आवाजमा हामी मकवानपुर अध्यक्ष विशालराज महतद्वारा हस्ताक्षरित ध्यानाकर्षणपत्रमा भनिएको छ– ‘जनताको पसिनाबाट संकलित रकमको दुरुपयोग हुनु, परियोजना अलपत्र पारिनु र जिम्मेवार निकायहरु मौन बस्नु अत्यन्त गम्भीर विषय हो । यदि समयमै छानबिन र कारबाही नगरिए यस्ता गतिविधिले भविष्यमा ठूला पूर्वाधार आयोजनाप्रति नै जनविश्वास समाप्त हुने खतरा रहन्छ । तसर्थ, यस सम्बन्धमा तत्काल उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्दछौं ।’

पत्रमा संकलित सम्पूर्ण रकमको यथार्थ विवरण र खर्चको फाँटबारी सार्वजनिक गर्न, परियोजनाको वर्तमान अवस्था र यसको भविष्यबारे स्पष्ट पार्न, अनियमितता वा ठगीमा संलग्न व्यक्तिहरुलाई तत्काल पहिचान गरी कडा कानुनी दायरामा ल्याउन, पीडित लगानीकर्ताहरुको लगानी फिर्ता वा उचित क्षतिपूर्ति सुनिश्चित गर्न र सम्बन्धित निकायमार्फत शीघ्र आवश्यक कानुनी एवं प्रशासनिक प्रक्रिया अगाडि बढाउन माग गरिएको छ ।

‘भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा हेटौंडा–काठमाडौं सुरुङमार्ग निर्माणको नाममा नेपाल पूर्वाधार विकास कम्पनीले शेयरमार्फत सर्वसाधारणबाट संकलन गरेको करिब ३१ करोड ७६ लाख रुपियाँ कामै नगरी ठगी गरिएको भन्ने व्यापक गुनासोका सम्बन्धमा मन्त्रीसमक्ष औपचारिक ध्यानाकर्षण गराएका छौं’, अध्यक्ष महतले भन्नुभयो– ‘ध्यानाकर्षणपत्र सचिवालयमा दर्ता भई आवश्यक प्रक्रिया पूरा गर्दै कार्यान्वयन तहमा पुगेको जानकारी गराउँछु । जनताले गाई, बाख्रा, जग्गा बेचेर जुटाएको पसिनाको पैसा फिर्ता गराउनु राज्यको दायित्व हो भन्ने हाम्रो स्पष्ट धारणा छ । सरकारले यस विषयलाई गम्भीरतापूर्वक लिएर छानबिन गरी दोषीमाथि कारबाही र पीडितलाई न्याय दिलाउने विश्वास छ ।’

गैरआवासीय नेपाली संघका अध्यक्षसमेत रहनुभएका कम्पनी अध्यक्ष भवन भट्ट, संस्थापक अध्यक्ष कुशकुमार जोशी, निवर्तमान अध्यक्ष लालकृष्ण केसीलगायत टोली सुरुङमार्ग आफैँ निर्माण गर्ने भन्दै सहयोग गर्न आग्रह गरी बागमतीका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलकहाँ पुग्नुभएको थियो । सुरुङमार्ग निर्माणको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) का लागि प्रदेश सरकारले ५ करोड रकम विनियोजन गरेको थियो । सरकारले पोष्टबहादुर बोगटी हेटौंडा–काठमाडौं सुरुङमार्ग नाम दिएको परियोजना निर्माण गर्ने यसअघि घोषणा गरिसकेको छ ।

हेटौंडाका जनताले मार्गमा लगानी गर्न तत्परता देखाएका थिए । गहना, गाई, बाख्रा, भैँसी बेचेर तथा ऋण काढेर हेटौंडाबासीले कम्पनीलाई रकम बुझाएका थिए । तर, प्रगति भएन । कम्पनीमा मकवानपुरका २२ संस्थापक शेयर सदस्य छन्, जसमा मकवानपुर उद्योग वाणिज्य संघ, उद्योग संघ हेटौंडा र नारायणी यातायात व्यवसायी संघले संस्थागत संस्थापक शेयर लिएका छन् ।

प्रदेशको गौरवको योजना भन्दै पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माण परियोजना कार्यान्वयन गर्न नेपाल पूर्वाधार विकास कम्पनीसँगको सम्झौता रद्ध गर्न प्रदेश सरकारले संघीय सरकारलाई निर्णयसहित आग्रह गरिसकेको छ । यस विषयमा संघीय सरकार मौन छ । प्रदेशको आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक नीति तथा कार्यक्रम र बजेट अर्धवार्षिक प्रगति समीक्षामा भौतिक पूर्वाधार विकास मन्त्रालयले संघीय सरकारलाई सम्झौता रद्ध गर्ने विषयमा पठाएको निर्णयपत्रउपर प्रतिक्रिया नआएको जनाएको हो ।

पत्रका विषयमा संघीय सरकारले बेवास्ता गर्दा समस्या भएको मन्त्रालयले कार्यपत्रमा प्रस्तुत गरेको छ । प्रदेशको उक्त निर्णयमाथि संघीय सरकारले जानकारी दिए प्रदेश सरकारले कामलाई तदारुकता दिन बाटो खुल्नेछ । तर, पूर्वाधार विकास कम्पनीको तयारीले प्रदेश सरकारको निर्णयलाई नै चुनौती दिएको छ ।

यसअघि हेटौंडा–कुलेखानी–काठमाडौं सुरुङमार्ग नेपाल पूर्वाधार विकास कम्पनी (एनपीबीसीएल) ले निर्माण गर्ने बताउँदै आए पनि हालसम्म प्रगति नभएकोले प्रदेश सरकारले आफैं निर्माण गर्न लागेको हो । पावर चाइनासँगको सम्झौताअनुसार प्रदेश र केन्द्र सरकारसँग मिलेर निर्माण आरम्भ गरिने बताइएको थियो । आयोजनामा पावर चाइनाले ९५ प्रतिशतसम्म लगानी गर्ने सहमति भएको थियो । पावर चाइनाले ७५ः२५ अनुपातमा ऋण लगानीका लागि अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुबाट लगानी व्यवस्थापन गर्ने जिम्मा लिएको छ ।

पटक–पटक आयोजना क्षेत्रको स्थलगत भ्रमण गरेर पावर चाइनाले १३ जनवरी, २०१८ मा प्राविधिक प्रस्ताव पेस गरेको थियो । पुनरावलोकनपश्चात् आयोजनामा सडकको कुल लम्बाइमध्ये ४४ किलोमिटर सुरुङ तथा पुलले ओगट्नेछ । सन् २०१५ डिसेम्बरदेखिको आपसी छलफलको परिणामस्वरुप नेपाल पूर्वाधारले पावर चाइनासँग २०१७ मेमा चीनको बेइजिङमा बेल्ट एन्ड रोड इनिसिएटिभ सम्मेलनका अवसरमा ईपीसी ठेक्कामा हस्ताक्षर गरेको थियो । पावर चाइनामा सिनो हाइड्रोलगायत ९८ वटा सहायक कम्पनी छन् । पावर चाइना सिनो हाइड्रोमार्फत नेपालमा ४० वर्षदेखि जलविद्युत् तथा भौतिक पूर्वाधार निर्माणमा संलग्न छ ।

ललितपुर महानगरपालिका, कीर्तिपुर नगरपालिका, दक्षिणकाली नगरपालिका, इन्द्रसरोवर गाउँपालिका, भीमफेदी गाउँपालिका हुँदै हेटौंडा उपमहानगरपालिकामा सुरुङमार्ग जोडिने भनिएको थियो । ५० मिटरको राइट अफ वे हुने सडक ४ लेनको हुनेछ । २६ वटा पुल, ४ किलोमिटरको सुरुङ रहने सडकले १ सय ८ हेक्टर वन र ९० हेक्टर निजी जमिन तथा बागमती किनारका ७ वटा दाहसंस्कारस्थल प्रभावित हुने र तीन स्थानमा करिब ४.५ किलोमिटर सुरुङ निर्माण गरिनेछ ।

कम्पनीले २०७० जेठ १ गते नेपाल सरकारबाट सुरुङमार्ग निर्माणको अन्तिम स्वीकृति पायो । निर्माण, सञ्चालन र हस्तान्तरण (बुट) ऐनअन्तर्गत सरकारले पूर्वाधार विकास कम्पनीलाई परियोजना सुम्पेको थियो । कम्पनीले निर्माणपश्चात् ३० वर्षसम्म सञ्चालन गरेर सुरुङमार्गको स्वामित्व सरकारलाई फिर्ता गर्नुपर्ने सम्झौतामा छ । निर्माणकर्ता नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडले शुभ साइत ठहरिएको दिन भन्दै हेटौंडा–कुलेखानी–काठमाडौं सुरुङमार्ग निर्माणका लागि २०७० मंसिर १५ गते भूबराह पूजा गरेको थियो ।

मकवानपुरको तत्कालीन कुलेखानी गाविस वडा नम्बर–२ लाम्दोली, चुरेपाखास्थित सुरुङको प्रस्तावित प्रवेशविन्दुमा देशका प्रतिष्ठित पण्डितहरुद्वारा पाँच प्रकारका पूजा गरिएको हो । चार पण्डितले वेद, एक पण्डितले चण्डी, ११ पण्डितले रुद्री, तीन पण्डितले हवन र अन्य पण्डितले पृथ्वीसुक्त, सामवेद, भागवत् पाठ गरेका थिए भने केहीले पञ्चशिला पूजा, विश्वकर्मा पूजा, नागपूजा र स्थानीय मठमन्दिर पूजा गरेका थिए । भूबराह पूजापछि कुनै काम अगाडि बढेको छैन ।

करिब १० वर्षअगाडि नै हेटौंडा बजारको मुख्य क्षेत्रमा केही समयपहिले पुनर्निर्माण भएको कान्तिराजपथ सडक (ओम भवनअगाडि) सडकमा ठूलो खाल्टोेमा प्लेकार्ड गाडिएको थियो । त्यसमा लेखिएको थियो–हेटौंडा–काठमाडौं सुरुङमार्ग । केही समयअघि निर्माण भएका सडकको बीचमा एकाएक ठूलै प्वाल परेपछि स्थानीयले विरोधस्वरुप निर्माण हुने भनिएको सुरुङमार्गलाई आधार मानेर व्यङ्ग्य गरेका थिए । स्थानीयका अनुसार उक्त सांकेतिक व्यङ्ग्यले दुई कुरालाई व्याख्या गरेको छ । पहिलो, केही समयपहिले मात्र निर्माण भएको पीचमा प्वाल पर्नु र दोस्रो, निर्माणको हल्ला गर्दै जनताबाट शेयर लिएर काम नगरिएको सुरुङमार्ग ।