शाहरुख अब डलर अरबपतिको सूचिमा


बलिउड अभिनेता शाहरुख खान कला क्षेत्रमा दिएको योगदानका लागि मात्र नभई धनाढ्य अभिनेताको रूपमा पनि चिनि“दै आएका छन्।

उनको यो उचाइ थप चुलिएको छ। हालै मात्र उनी पहिलोपटक हुरुन ग्लोबल रिच लिस्ट २०२६ मा १.३ अर्ब अमेरिकी डलर सम्पत्तिसहित समावेश भएका छन्। विश्वभरका अमेरिकी डलर अर्बपतिको सूचीमा समेटि“दै उनले यो कीर्तिमान कायम गरेका हुन्।

जनवरी १५ सम्मको तथ्यांकका आधारमा गरिएको गणनाअनुुसार शाहरुखको सम्पत्ति १.३ अरब अमेरिकी डलर रहेको छ। यो लिस्टमा पर्ने विश्व कलाकारहरूमा जे–जेड (२.८ अर्ब अमेरिकी डलर), टेलर स्विफ्ट (१.६ अर्ब डलर) र रिहाना (१.५ अर्ब डलर) रहेका छन्। यो वर्ष भने नया सेलिब्रेटीको रूपमा शाहरुख खान, ब्रुस स्प्रिङस्टि र म्याजिक जोन्सन पहिलोपटक समावेश भएका हुन्।

यस सूचीमा भारत ३ सय ८ अर्बपतिसहित तेस्रो स्थानमा छ। चीन र अमेतिरका क्रमशः ११ सय १० जना र १ हजार जना अर्बपतिसहित पहिलो र दोस्रो स्थानमा रहेका छन्। सूचीमा समावेश भएका सेलिब्रेटी अर्बपतिबारे हुरुन रिपोर्टका अध्यक्ष तथा प्रमुख अनुसन्धानकर्ता रुपर्ट हुगेवेर्फले सन् २०२६ को हुरुन सूचीले सेलिब्रेटी सम्पत्तिको क्षेत्रमा एक महत्वपूर्ण मोड देखाएको बताएका छन्। ब्रान्ड र प्रविधिमा गरिएको रणनीतिक स्वामित्वले परम्परागत पारिश्रमिकभन्दा धेरै प्रभावशाली नतिजा दिएको उनको भनाइ छ। शाहरुख अब आफ्नो नया फिल्म किङका साथ डिसेम्बरमा दर्शकमाझ आउने छन्।