काल्र्सबर्ग गल्फ क्लासिक सम्पन्न, कर्बिर तामाङ विजेता


काठमाडौँ

गोर्खा ब्रुअरी प्रा.लि.द्वारा आयोजित काल्र्सबर्ग गल्फ क्लासिक २०२६ अप्रिल १० र ११ मा प्रतिष्ठित रोयल नेपाल गल्फ कोर्समा सफलतापूर्वक सम्पन्न भएको छ । दुई दिनसम्म चलेको प्रतियोगितामा १३० जना खेलाडी सहभागी भएका थिए । प्रतियोगिता स्टेबलफोर्ड फम्र्याटमा तीन चौथाइ ह्यान्डिक्यापका आधारमा खेलाइएको थियो । पुरुषतर्फ कर्बिर तामाङ ४८ काउन्टब्याक स्कोरसहित विजेता बने भने अश्मांक कार्की समान ४८ स्कोरका आधारमा रनर–अप भए। बेस्ट ग्रस विधामा हरि बहादुर थापाले ३५ स्कोरसहित उपाधि जित्नुभएको थियो ।

महिलातर्फ सुष्मा सिंह ३६ स्कोरसहित विजेता बनिन् भने तारा कार्की चित्रकार ३४ काउन्टब्याक स्कोरसहित दोस्रो स्थानमा रहिन् । सिनियरतर्फ ६५ वर्षमाथि पुरुष समूहमा मेजर जनरल विजय मोक्तान विजेता तथा क्याप्टेन मोहन गुरुङ रनर–अप बन्नुभयो । सुपर सिनियर (७५ वर्षमाथि)तर्फ क्याप्टेन मणि लाल थापा विजेता घोषित भए। महिलातर्फ सिनियर (६० वर्षमाथि)मा देवी पुलामी र सुपर सिनियर (७० वर्षमाथि)मा सन्ध्या राई विजेता बन्नुभयो ।

विशेष विधातर्फ हरिबहादुर थापाले होल नम्बर १२ मा ‘होल इन वन’ गर्दै प्रतियोगिताको आकर्षण बने। ‘मोस्ट बर्डीज’ अवार्ड कर्बिर तामाङले ४ बर्डीसहित जिते। त्यस्तै ‘लङ्गेस्ट ड्राइभ’ (होल ११)मा सरोज थापा, ‘क्लोजेस्ट टु द पिन’ (होल १२)मा खिम गौचन तथा ‘स्पोट्र्सम्यानसिप’ पुरस्कार ब्रिगेडियर जनरल शशि किरण रायमाझीले प्राप्त गर्नुभयो ।

आयोजकका अनुसार प्रतियोगितामार्फत खेल भावना, आपसी सद्भाव र उच्चस्तरीय खेल जीवनशैलीप्रति प्रतिबद्धता झल्किएको छ । रोयल नेपाल गल्फ कोर्समा सम्पन्न यस प्रतियोगिताले सहभागीहरूलाई प्रतिस्पर्धासँगै काल्र्सबर्गको विशेष अनुभव प्रदान गरेको जनाएको छ ।