काठमाडौँ।
पूर्वगृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकले सरकारले आफूलाई प्रतिशोधपूर्ण र पूर्वाग्रही ढङ्गले हिरासतमा राखेको बताएका छन् । गत भदौ २३ र २४ गतेको घटना छानबिनका लागि गठित आयोगको प्रतिवेदनलाई ‘अपूर्ण र अप्रमाणित’ संज्ञा दिँदै उनले आफूमाथि लगाइएको फौजदारी अभियोग निराधार रहेको दाबी गरेका हुन् ।
सर्वोच्च अदालतको परमादेशपछि १३ दिनको हिरासत मुक्त भएका लेखकले शुक्रबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले न्यायको पक्षमा उभिने सबैप्रति आभार व्यक्त गरेका छन् । उनले भनेका छन्, “आयोगको पूर्वाग्रही र प्रतिशोधपूर्ण प्रतिवेदनका आधारमा मलाई नियन्त्रणमा लिइए पनि अन्ततः सम्मानित सर्वोच्च अदालतको आदेशले म रिहा भएको छु ।”
लेखकले आफू सधैँ कानुनको पालना गर्ने र न्यायमा विश्वास राख्ने व्यक्ति भएको उल्लेख गर्दै यस घटनासँग जोडिएका बाँकी कानुनी र राजनीतिक लडाइँलाई निरन्तरता दिने स्पष्ट पारेका छन् । उनले आफ्नो रिहाइका लागि आवाज उठाउने न्यायप्रेमी नागरिक, कानुन व्यवसायी, राजनीतिक दलका नेता, मानव अधिकारकर्मी र सञ्चारकर्मीहरूलाई धन्यवादसमेत दिएका छन् ।
जेनजी आन्दोलन सम्बन्धमा छानबिनका लागि गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयनका शिलशिलामा लेखकलाई चैत १४ गते पक्राउ गरिएको थियो । लेखक चैत २६ मा हाजिरी जमानीमा रिहा भएका थिए ।











प्रतिक्रिया