प्रधानसेनापतिद्वारा पदोन्नति भएका अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान


काठमाडौं ।

नेपाली सेनाले पदोन्नति भएका अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेको छ। नेपाल सरकारको यही चैत २२ गतेको निर्णयअनुसार उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी प्रभुबहादुर बुढा (पिएसडी) र सहायक रथी पवन खत्रीलाई प्रधानसेनापति महारथी अशोकराज सिग्देलले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

जंगी अड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापति सिग्देलले पदोन्नति प्राप्त अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका थिए। कार्यक्रममा बलाधिकृत, रथीवृन्द, अधिकृतहरू तथा पदोन्नति भएका अधिकृतका परिवारजनको समेत उपस्थिति रहेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

नेपाली सेनाले नियमित पदोन्नति प्रक्रियाअनुसार उच्च तहका अधिकृतहरूलाई जिम्मेवारी थप गर्दै संगठनलाई थप सुदृढ बनाउने लक्ष्यसहित यस्तो कार्यक्रम आयोजना गर्दै आएको छ।