आइतबार पनि अस्पतालका ओपीडी सेवा सञ्चालन गर्न सरकारको निर्देशन


काठमाडौँ।

सरकारले सातामा दुई दिन सार्वजनिक बिदा लागू गर्ने निर्णय गरेपछि पनि स्वास्थ्य सेवा अवरुद्ध नहोस् भन्ने उद्देश्यले आइतबारसमेत अस्पतालका बहिरङ्ग (ओपीडी) सेवा सञ्चालन गर्न निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको सूचनामा बिरामीलाई सेवा लिन कठिनाइ नहोस् भनेर सबै अस्पताल तथा स्वास्थ्य संस्थालाई आवश्यक व्यवस्था मिलाउन भनिएको छ।

मन्त्रिपरिषद्को निर्णयअनुसार चैत २२ गते राजपत्रमा प्रकाशित सूचनाबाट शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा लागू हुने भएको हो। यसै सन्दर्भमा मन्त्रालयले स्वास्थ्य सेवा नियमित र प्रभावकारी रूपमा सञ्चालन गर्न नयाँ कार्यविधि अघि बढाएको जनाएको छ।

मन्त्रालयका सह-प्रवक्ता डा. समीरकुमार अधिकारीले अस्पतालहरूले आफ्नो कार्यभार र उपलब्ध जनशक्ति अनुसार आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्नुपर्ने बताएका छन्। साथै, आइतबार काम गर्ने कर्मचारीलाई सातामा दुई दिन बिदा सुनिश्चित गर्ने गरी तालिका मिलाउन निर्देशन दिइएको छ।

यदि कुनै कारणले नियमित बिदा दिन सम्भव नभएमा सट्टा बिदाको व्यवस्था गर्नुपर्ने पनि मन्त्रालयले उल्लेख गरेको छ। साथै, प्रादेशिक अस्पतालहरूमा पनि यही व्यवस्था लागू गर्न र सम्बन्धित प्रदेशका निकायसँग समन्वय गर्न आग्रह गरिएको छ।