प्रधानमन्त्री बालेन्द्र साहले विभिन्न देशका राजदूतहरूसँग सामूहिक छलफल गरेका छन् । यो छलफलले राजदूतलाई समेत कूटनीतिक मूल्य, मान्यता र मर्यादा सिकाएको छ । विगतमा विशेष गरी भारत, चीन, अमेरिका, बेलायत, युरोपियन युनियनलगायत मुलुकका राजदूतहरुले प्रधानमन्त्री र मन्त्रीलाई मनोमानीरुपमा एकाएक भेटेर आफ्नो धारणा राख्ने गरेका थिए । मुलुकको राजनीतिक अवस्थासमेत बुझ्ने गरेका थिए । मुलुकमा गणतन्त्र आएपछि राजदूतले बढी सक्रियता देखाउँदै सम्बन्धित मन्त्रालय वा परराष्ट्र मन्त्रालयलाई समेत जानकारी नदिई भेट्ने गरेका थिए । अब त्यो बन्द भएको छ । हाम्रो देशको आफ्नै प्रोटोकल छ । कसलाई कसरी भेट गर्ने भन्ने आचारसंहिता छ । त्यही सिकाउन भेटघाट भएको हो । उनीहरुलाई प्रोटोकल याद भए पनि नियम मिचेर विशिष्ट व्यक्तिलाई निर्बाध भेटेर आफ्नो र देशको धारणा राख्ने गरेका थिए ।
त्यही सबक सिकाउन प्रधानमन्त्री साहले १७ देशका राजदूतसँग सामूहिक भेट गर्नुभएको थियो । परराष्ट्रमन्त्री शिशिर खनाल र सबै मन्त्रीलाई साक्षी राखेर भएको छलफलमा देशको पछिल्लो राजनीतिक अवस्था र सरकारका प्राथमिकताका बारेमा जानकारी गराइएको थियो । प्रधानमन्त्री साहले सुशासन, आर्थिक विकास र वैदेशिक सम्बन्धलाई प्राथमिकता दिने प्रतिबद्धता जनाउनुभएको थियो । सरकार गठन भएको दुई सातामा प्रधानमन्त्री साहले सिंहदरबारमा छलफल गर्नुभएको थियो । सो छलफल फलदायी भएको सरकारी धारणा छ । छलफलमा सरकारका मुख्य प्राथमिकताका बारेमा जानकारी गराइएको थियो । यसअघि प्रम साहलाई विभिन्न देशका प्रधानमन्त्रीले बधाई दिएका थिए । आधिकांश राजदूतले लिखितरुपमा नै बधाई ज्ञापन गरिसकेका थिए । यस भेटघाटमा भएको छलफलका क्रममा सहभागी राजदूतहरूले नयाँ सरकारको कार्यदिशा, आगामी योजना र प्राथमिकताका विषयमा विशेष चासो राखेका थिए । छलफलमा मन्त्रीहरुको समेत उपस्थिति रहेको थियो ।
राजदूतलाई प्रधानमन्त्री साहले आफ्नो सरकारले सुशासन, आर्थिक विकास र वैदेशिक सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको स्पष्ट पार्नुभएको थियो । नेपालको परराष्ट्र नीतिलाई सन्तुलित रूपमा अगाडि बढाउने र विकासका साझेदारहरूसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता उहाँले जनाउनुभएको थियो । सोही क्रममा परराष्ट्र मन्त्रालयले परराष्ट्र मामिला तथा कूटनीतिक आचारसंहिताका विषयमा राजदूत र मन्त्रीलाई प्रशिक्षण दिएको थियो । सचिव अमृतबहादुर राईले मन्त्रीहरूलाई जानकारी गराउनुभएको थियो । मन्त्रीहरुलाई राजदूतसँग कुन अवस्थामा भेटघाट गर्ने, भेट गर्दा अनिवार्यरुपमा परराष्ट्र मन्त्रालयलाई जानकारी गराउनुपर्ने, भेटअघि परराष्ट्रसँग सहमति लिनुपर्नेलगायतका विषयमा प्रशिक्षण दिइएको थियो ।
मन्त्रालयले अन्तर्राष्ट्रिय परिवेश, नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध, राष्ट्रिय हितको प्रवद्र्धन, नेपालको समग्र परराष्ट्र नीतिबारे जानकारी दिएको थियो । मन्त्रीहरुलाई परराष्ट्र नीति सञ्चालन गर्दा अपनाउनुपर्ने विधि, सीमाहरू र कूटनीतिक मर्यादाका सम्बन्धमा पनि जानकारी गराइएको थियो । नेपालको परराष्ट्र नीतिका प्राथमिकता, सम्बन्धको सन्तुलन र कूटनीतिक आचारसंहिताका प्राविधिक पक्षका बारेमा समेत मन्त्रीलाई प्रशिक्षण दिइएको थियो । विदेशी पदाधिकारीसँग हुने भेटवार्ता गर्दा पालना गर्नुपर्ने शिष्टाचारदेखि कूटनीतिक आचारसंहिताका अनिवार्य पालनाका विषयमा समेत मन्त्रीहरूलाई जानकारी गराइएको थियो । प्रधानमन्त्री साहको निर्देशनमा २०६३ सालपछि भएको यो भेटघाट महत्वपूर्ण छ । विदेशी राजदूत, कूटनीति नियोग प्रमुखलगायतसँग भेट गरी देशको अवस्थाबारे प्रधानमन्त्री स्वयंले नै जानकारी दिनु सरकारको सबल एवं उत्कृष्ट कूटनीति मानिन्छ ।











प्रतिक्रिया