आमा–छोरीको भावनात्मक कथा लालीबजारको मिठो संसार


रिलिज डेट नजिकिंदै जाँदा फिल्म लालीबजारले गीतमार्फत दर्शकमाझ आफ्नो उपस्थिति बलियो बनाएको छ।
पहिलो गीतले युट्युबमा उल्लेखनीय सफलता पाएपछि निर्माण टिमले दोस्रो गीत मिठो संसार सार्वजनिक गरेको छ। षट्कोण आर्टसको ब्यानरमा म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँद्वारा निर्मित फिल्मको सार्वजनिक लिरिकल भर्सनमा कथास“ग जोडिएका दृश्य समावेश गरिएको छ। गीतले फिल्मको भावनात्मक पाटोलाई अघि सारेको छ। गीतमा समीक्षा अधिकारीसंगै दिलिजा रुवाली, अलिशा शर्मा र पूर्णिमा तामाङको स्वर रहेको छ भने कोरसमा गुराँस ठकुरी र गायत्री राना मगरले साथ दिएका छन्। गीतमा शब्द र संगीत जयन जे वाइवाको छ।

निर्देशक यम थापाका अनुसार मिठो संसार फिल्मको मुख्य भावनात्मक धागोसँग जोडिएको गीत हो। उनका अनुसार गीतमा आमा र छोरीबीचको सम्बन्ध, माया र हुर्काउने क्रममा आमाले भोग्ने संघर्षलाई चित्रण गरिएको छ, जसले कथाको मूल संवेदनालाई दर्शकसम्म पु¥याउने काम गर्छ। सार्वजनिक गीतको भिडियोमा स्वस्तिमा खड्का, प्रशंसा सुवेदी र बाल कलाकार समाइरा थापा फिचर्ड छन्। फिल्ममा स्थापित कलाकारसंगै नयाँ अनुहारलाई पनि स्थान दिइएको छ, जसले कथालाई नयाँ पुस्तासंग जोड्ने प्रयास गरेको देखिन्छ। यसअघि सार्वजनिक मायालाई के दिऊँ म बैना गीतले युट्युबमा एक करोडभन्दा बढी भ्यूज प्राप्त गरेको छ।

फिल्म आगामी वर्ष २०८३ साल वैशाख १८ गते रिलिजमा आउने तयारीमा छ। बर्दियाको राजापुरमा छायांकन गरिएको फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनारलगायतका कलाकारले अभिनय गरेका छन्। यसै फिल्ममार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले डेब्यू गर्दैछन्। रंगमञ्चमा सक्रिय विशाल र नयाँ पुस्ताकी कलाकार प्रशंसाको प्रवेशलाई पनि फिल्मको अर्को आकर्षणका रूपमा लिइएको छ।

निर्देशक यम थापाकै कथा रहेकोे फिल्ममा पटकथा र संवाद प्रदीप भट्टराई र निर्देशक, द्वन्द्व निर्देशन सम्राट बस्नेत, कला निर्देशन उमेश चौधरी, छायांकन निर्देशन सुशन प्रजापति र सम्पादक मित्रदेव गुरुङको रहेको छ।