नीताको निर्देशनमा कास्कीबाट पार्वतीको क्ल्याप


अभिनेत्री नीता ढुंगानाको निर्देशनमा निर्माणाधीन फिल्म पार्वतीको छायांकन हालै कास्कीबाट सुरु गरिएको छ। कास्कीको माछापुच्छ्रे गाउँपालिका–१, मिर्सा गाउँमा शुभमुहूर्त गर्दै फिल्मको औपचारिक सुटिङ सुरु गरिएको हो।

अभिनेत्री ढुंगानाको होम प्रोडक्सन नीता ढुंगाना फिल्म्स्को ब्यानरमा निर्माणाधीन फिल्ममा उनी स्वयं मुख्य भूमिकामा पनि देखिनेछिन्। उनका साथमा दीपाश्री निरौला, अशोक दर्जी, सिरु विष्ट, राधिका कंडेल , राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेललगायत कलाकारले अभिनय गर्नेछन्। फिल्मको कथा र पटकथा निर्देशक ढुंगानाले नै तयार पारेकी छन् भने स्क्रिप्ट लेखन शिवम् अधिकारीको रहेको छ। शंकर पाण्डे कार्यकारी निर्माता तथा कार्टुन क्रुजका डान्सर तथा निर्देशक सरोज अधिकारी क्रियटिभ निर्देशक रहेको फिल्ममा छायांकन निर्देशन सुदीप बरालको रहनेछ।

निर्माण टिमले फिल्म आगामी भदौ १२ गते रिलिजमा ल्याउने घोषणा गरेको छ। सोही लक्ष्यअनुसार काम तीव्र गतिमा अघि बढाइएको निर्देशक तथा अभिनेत्री ढुंगानाले बताएकी छन्। उनका अनुसार फिल्मको छाया“कन करिब एक महिनाभित्र सम्पन्न गरिनेछ।