भूपू सैनिक सम्मेलन: ‘भूपू सैनिकको अनुभव र समर्पण राष्ट्रको अमूल्य सम्पत्ति’

752
Shares

तनहुँ।

नेपाली सेनाले राष्ट्रको सेवामा दशकौं बिताएका भूतपूर्व सैनिकहरूको अवस्था बुझ्न, उनीहरूका गुनासा सुन्न र कल्याणकारी योजनाको जानकारी गराउने उद्देश्यले गण्डकी प्रदेशको तनहुँको खैरेनीटारमा बुधबार भूतपूर्व सैनिक सम्मेलन आयोजना ग¥यो।

गण्डकी प्रदेशको खैरेनीटारलगायत आसपासका जिल्लामा बसोवास गर्ने पूर्वसैनिकहरूको मनका कुरा सुन्ने उद्देश्यले आयोजना गरिएको सम्मेलनमा प्रधानसेनापति अशोकराज सिग्देलले पूर्वसैनिकहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्नुभएको थियो ।

सोही क्रममा सम्मेलनलाई सम्बोधन गर्दै प्रधानसेनापति सिग्देलले पूर्वसैनिकहरूको योगदान र समर्पण राष्ट्रका लागि सधैं स्मरणीय रहेको बताउनुभएको थियो । उहाँले भन्नुभयो– ‘तपाईंहरूले सेवाकालमा गर्नुभएको तपस्याले नै आज नेपाली सेना सबल र सम्मानित बनेको छ । तपाईंहरूको अनुभव र सीप देशलाई सधैं चाहिन्छ ।’ प्रधानसेनापतिले सरकारको सहयोगमा सैनिक कल्याणकारी कोषलाई थप प्रभावकारी बनाउँदै जाने प्रतिबद्धतासमेत जनाउनुभयो ।
भूतपूर्व सैनिकहरूले प्रधानसेनापति अगाडि खुलेर आफ्ना भनाइ राखेका थिए । पूर्वसुबेदार गजेन्द्र गुरुङले सैनिक कल्याणकारी कोषबाट प्राप्त हुने सुविधाले आफ्नो जीवनमा ठूलो राहत पुगेको बताउँदै प्रधानसेनापतिलाई धन्यवाद दिँदै भन्नुभयो–‘हामी पूर्वसैनिकहरू सधैं राष्ट्रको मेरुदण्ड हौं । आवश्यक परे पुनः योगदान दिन तयार छौं ।’

नेपाली सेनाका प्रवक्ता सहायकरथी राजाराम बस्नेतले ‘एक पटकको सिपाही, जीवन रहेसम्म सिपाही’ भन्ने मान्यता रहेको उल्लेख गर्दै अवकाशपछि पनि पूर्वसैनिक तथा उनका आश्रित परिवारको शिक्षा, स्वास्थ्य र स्वरोजगारको सुनिश्चितता गर्नु नेपाली सेनाको दायित्व भएको बताउनुभयो । उहाँले सम्मेलनले हिताधिकारीको आत्मीयता, भरोसा र विश्वास बढाउन मद्दत गरेको बताउनुभयो ।

सहायकरथी बस्नेतका अनुसार हरेक प्रधानसेनापतिको कार्यकालमा एक पटक यो सम्मेलन गरिन्छ । यसलाई वैज्ञानिक र व्यवस्थित बनाउन तीन चरणमा विभाजन गरी प्रत्येक चरणमा योजनाबद्ध तरिकाले निश्चित प्रदेशहरूमा कार्यक्रम सञ्चालन गरी तीन वर्षमा देशभर सम्पन्न गरिन्छ । यस वर्षको मूल भाव ‘भूतपूर्व सैनिक सम्मेलनको प्रण–पुनर्मिलन, हिताधिकारीको कल्याण र कोषको दिगोपन’ रहेको छ ।

सम्मेलनले समाजमा छरिएर रहेका पूर्वसैनिक तथा पारिवारिक निवृत्तिभरणमा रहेका व्यक्तिहरूबीच पुनर्मिलन गराई आपसी भाइचारा र अपनत्वको भावना कायम गरेको छ । साथै, एकल महिला र आश्रित परिवारको आर्थिक, सामाजिक तथा भौतिक जीवनस्तर सुधारका लागि शिक्षा, स्वास्थ्य, स्वरोजगार, पुनःरोजगार र आवासजस्ता कल्याणकारी पक्षहरू सम्बोधन गर्दै आइरहेको जिकिर गर्दै प्रवक्ता बस्नेतले भन्नुभयो–‘यस प्रकारका सम्मेलनले भूपू सैनिक र बहालवाला सैनिकबीच सामीप्य जागृत गर्ने, कल्याणकारी कार्यहरूको जानकारी गराई समयानुकूल सुधारको लागि राय सुझाव संकलन गरी प्रभावकारी बनाउने काम गरेको छ । यसले नेतृत्व तहलाई तल्लो तहका समस्या बुझ्न र समाधानका लागि ठोस निर्णय लिन सहयोग पुग्छ ।’

यस वर्ष लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, मधेस प्रदेश र वागमती प्रदेशका ३३ हजार पूर्वसैनिकको उपस्थिति रहने अनुमान गरिएको छ । चैत महिनाको तेस्रो र चौथो तथा वैशाखको पहिलो हप्ता गरी चार चरणमा सम्मेलन सञ्चालन हुँदैछ । यसअन्तर्गत मध्यपश्चिम पृतनाका रूपन्देही, दाङ, प्युठान, रोल्पा, पूर्वरूकुम, पश्चिम रूकुम, सल्यान, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, नवलपरासी पश्चिम, नवलपरासी पूर्व तथा पश्चिम पृतनाका कास्की, म्याग्दी, मुस्ताङ, मनाङ, पर्वत, बाग्लुङ, स्याङ्जा, गोरखा, लमजुङ, तनहुँ र मध्यपूर्वी पृतनाका सिन्धुली, रामेछाप, दोलखा, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी गरी कुल ३४ जिल्लामा चैत २२ देखि वैशाख ४ गतेसम्म सम्मेलन आयोजना हुनेछ ।

कार्यक्रममा सहभागी अधिकांश पूर्वसैनिकले नेपाली सेनाको यो पहललाई उत्कृष्ट र अनुकरणीय भन्दै प्रशंसा गरे । पूर्वसैनिक हरिबहादुर थापाले भन्नुभयो– ‘हामीले सेवा गरेको संस्थाले हाम्रो अवस्था बुझ्न प्रधानसेनापति स्वयं आउनुभयो । यसले हामीप्रति सेनाको सम्मान र अपनत्व देखाएको छ ।’
अर्का पूर्वसैनिक लक्ष्मण गिरीले सैनिक कल्याणकारी कोषबाट उपचार र शिक्षामा पाएको सहुलियतले परिवारको जीवन सहज भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘हामी आवश्यक परेमा राष्ट्रको रक्षार्थ सधैं तयार छौं । सेनाको यो मायाले हाम्रो मन जितेको छ ।’

नेपाली सेनाले यस प्रकारको सम्मेलनलाई निरन्तरता दिए पूर्वसैनिकहरूको मनोबल उच्च रहने, समाजसँगको जोडी मजबुत हुने र राष्ट्रिय एकतामा थप टेवा पुग्ने विश्लेषकहरूले बताएका छन् । सम्मेलनले राष्ट्रले पूर्वसैनिकलाई बिर्सिएको छैन भन्ने सन्देश दिएको छ । नेपाली सेनाले यो परम्परालाई निरन्तरता दिँदै कोषको दिगोपन र पूर्वसैनिकको कल्याणका लागि थप रणनीति अघि बढाउने प्रतिबद्धता जनाएको छ । नेपाली सेनाले देशभर छरिएर रहेका करिब १ लाख १५ हजारभन्दा बढी अवकाशप्राप्त सैनिकहरूलाई एकतामा बाँध्ने उद्देश्यले २०७० सालदेखि भूतपूर्व सैनिक सम्मेलन सञ्चालन गर्दै आएको छ ।