नागढुङ्गा सुरुङमार्ग प्रयोग शुल्क सार्वजनिक: हलुका सवारीलाई ६५, भारीलाई ६०० सम्म


काठमाडौं ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनका लागि लाग्ने शुल्क (दस्तुर) सार्वजनिक गरेको छ।

मन्त्रालयले शुक्रबार राजपत्रमा सूचना जारी गर्दै नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार सुरुङमार्ग प्रयोगबापत सवारी साधनबाट शुल्क लिने दर निर्धारण गरिएको जनाएको हो। उक्त निर्णय मन्त्रिपरिषद्ले गत साउन २६ गते गरेको थियो।

सूचनाअनुसार सुरुङमार्ग प्रयोग गर्दा सवारीको प्रकारअनुसार फरक–फरक शुल्क तोकिएको छ। कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस लगायतका हलुका सवारीसाधनका लागि काठमाडौं प्रवेश गर्दा ६५ र बाहिरिँदा ६० तोकिएको छ।

त्यस्तै मिनीबस तथा मिनी ट्रक/टिपरका लागि प्रवेश गर्दा ११५ र बाहिरिँदा ८० निर्धारण गरिएको छ। बस तथा सिङ्गल रियर एक्सल ट्रकका लागि प्रवेश शुल्क २६० र बाहिरिँदा २०० तोकिएको छ।

मल्टी एक्सल ट्रक तथा भारी उपकरणका लागि भने सबैभन्दा उच्च शुल्क निर्धारण गरिएको छ। यस्ता सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६०० र बाहिरिँदा २५० तिर्नुपर्नेछ।

सरकारले सुरुङमार्ग सञ्चालन तथा मर्मतसम्भार खर्च व्यवस्थापनका लागि यस्तो शुल्क व्यवस्था लागू गरिएको जनाएको छ।