अपरिचित व्यक्तिसँग फोनमा भएको सामान्य विवादले लियो दुई युवाको ज्यान


ललितपुर।

पाटन दरबार क्षेत्रस्थित ऐतिहासिक कृष्ण मन्दिर परिसरमा बुधबार साँझ सामान्य विवादले दुई दाजुभाइको ज्यान जानेगरी भयावह घटना भयो । यसले अनियन्त्रित आवेश र विक्षिप्त मानसिकताको परिणाम कति विनाशकारी हुन सक्दो रहेछ भन्ने दुःखद् उदाहरण प्रस्तुत गरेको छ ।

झुक्किएर अपरिचित व्यक्तिलाई फोन गएको विवादपछि यस्तो घटना भएको प्रहरीले जनाएको छ । चक्कु प्रहारबाट ३३ वर्षीय सुमित नेम्बाङ र उनका भाइ २६ वर्षीय सिर्जन नेम्बाङको हत्या भएको हो । चक्कु प्रहार गर्ने व्यक्ति ३२ वर्षीय सञ्जीव नेपाली हुन् । ललितपुर महानगरपालिका ९ निवासी नेपालीलाई प्रहरीले भाग्दै गरेको अवस्थामा पक्राउ गरेको थियो । सञ्जीवसँगै उनका साथी गगन सुनार पनि घटनास्थलबाटै पक्राउ परेका छन् । चक्कु प्रहारबाट गम्भीर घाइते भएका नेम्वाङ दाजुभाइलाई बीएन्डबी अस्पताल लगिएको र उपचारकै क्रममा ती दुईको निधन भएको थियो ।

बुधबार साँझ नेम्बाङ दाजुभाइले फोन गर्दा गल्तीले सञ्जीवको मोबाइलमा परेको थियो । प्रहरीका अनुसार नचिनेको नम्बरबाट फोन आएपछि केहीबेर कुरा भएको र सोही क्रममा भनाभन भएको थियो । फोनमै विवाद बढ्दै जाँदा सञ्जीवले नेम्बाङ दाजुभाइलाई नै पाटन आउन चुनौती दिएपछि इमाडोल बस्ने दाजुभाइ पाटन पुग्छन् । सोही क्रममा मासु पसलमा काम गर्ने सञ्जीवले मासु काट्न प्रयोग हुने हतियार ती दुई दाजुभाइमाथि प्रहार गरेका थिए । जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख होबिन्द्र बोगटीले घटनामा संलग्न सञ्जीव नेपालीलाई मुख्य आरोपीको रूपमा पक्राउ गरी कारबाही अघि बढाइएको जानकारी दिँदै भन्नुभयो– ‘पक्राउ परेका आरोपीविरुद्ध ज्यान मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको छ ।’

प्रहरीका अनुसार चार जना युवाको समूहबीच आपसी विवादका क्रममा यो आक्रमण भएको हो । घटनाको प्रत्यक्ष कारण सामान्य झगडा रहेको खुलेको छ । अचानक भएको आक्रमणपछि मन्दिर परिसरमा भागदौड मच्चिएको थियो भने स्थानीय र पर्यटकमा त्रास फैलिएको थियो ।